s

मलेसियाबाट दुई दिनमा घर आइपुग्छु भनेका राजेन्द्र ७ वर्षमा पनि पुगेनन्

रुपा राई

सिरहाको कर्जन्हा नगरपालिका ७ का राजेन्द्र पासवान रोजगारीका लागि मलेसिया गएको झण्डै ७ वर्ष भयो । त्यहाँ पुगेको सात महिनादेखि उनको अत्तोपत्तो छैन । 

उनलाई कम्पास रिक्रुटमेन्ट प्रालि म्यानपावरले नेपालबाट इलेक्ट्रिसियनको कामका लागि भनेर ९० हजार रुपैयाँ लिएर मलेसिया पठाएको थियो । आफन्त पर्ने दलालको भर परेर उनी रोजगारीका लागि मलेसिया गएका हुन् । 
 
उता पुगेपछि भनेको काम नपाएको र ग्लोब्स बनाउने कम्पनीमा काम लगाएको भन्दै राजेन्द्रले घरमा फोन गरेका थिए । सात महिनासम्म उनले ग्लोब्स बनाउने कम्पनीमै काम गरेका थिए । त्यो अवधिमा राजेन्द्रले २० हजार रुपैयाँ घर पठाएका थिए । 
 
पछिल्लो चोटी घरमा फोन गर्दा राजेन्द्रले आफू काम गर्न नसक्ने भन्दै नेपाल फर्काउन आग्रह गरेका थिए । राजेन्द्रले आफूलाई मलेसिया पठाउने गाउँकै आफन्त पर्ने एजेन्ट जगत साहलाई विदेशमा आफूलाई परेको समस्या सुनाएका पनि थिए । जगतले अर्को कम्पनीमा सारिदिने आश्वासन दिएका थिए । तर त्यो आश्वासनमै सिमित रहयो । 
 
बुवाको अवस्था परदेशमा के कसो छ भन्ने थाहा नपाउँदै छोरा अक्षयकुमार पासवानलाई विदेश जानुपर्ने बाध्यता परेको छ । घरमूली विदेशमा नै हराएपछि अक्षयकुमार माघ २४ गते पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउनुभयो । त्यही बेला उहाँले मलेसियामा हराएका बुवाका बारेमा सूचना केन्द्रमा जानकारी गराउनु भएको थियो । 
 
‘बुवालाई कम्पनीका मान्छेले बेलाबेलामा कुट्ने र तनाव दिइरहन्छ भनेर सुनाउनुहुन्थ्यो’ अक्षयकुमारले भन्नुभयो । अहिलेसम्म परदेशी बुवाको खुटखबर पत्ता नलाग्दा अक्षयकुमारका मन पोल्छ । बुवाको कुरा सुरु गर्ने बित्तिकै उहाँका आँखा भरिन्छन् । 
 
अक्षयकुमारका अनुसार कम्पनीमा काम गर्न नसक्ने भनेपछि घरबाट राजेन्द्रका लागि हवाई टिकटका लागि खर्च पनि पठाइयो । उताबाट राजेन्द्रले टिकट किनेको र दुई दिनपछि घर आइपुग्ने जानकारी पनि गराएका थिए । 
 
तर झण्डै ७ वर्ष पूरा हुन लाग्दा पनि त्यो दुई दिन पूरा भएको छैन । घर आउने खबर दिएपछि परिवारका मानिसले राजेन्द्रसित कुराकानी पनि गर्न पाएका छैनन् । 
 
परिवारले राजेन्द्रको सोधखोज पनि नगरेको होइन । तर हात लाग्यो शुन्य । अक्षयले भन्नुभयो, ‘बुवालाई खोज्न विभिन्न ठाउँमा गएर भन्यौं । मलेसियामा भएका आफन्तलाई पनि खोज्न लगायौं । तर केही खबर पत्ता लागेन ।’
 
अहिले त कतिपयले शंकाका भरमा यता हुन सक्छन्, उता हुन सक्छन् भनिरहेका छन् । एकजना आफन्त ओपिन्द्र पासवानले मलेसियाको जोहोरबारुमा रहेको जेलबाट अन्तै सारिएको भनेर परिवारलाई सुनाएका थिए । तर परिवारलाई यो खबर सही कि गलत हो भन्ने थाहा छैन् । जेलमै भए त छुटेर घर फर्कन्थे भन्ने आशा छ परिवारको । 
 
राजेन्द्रको खोजीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाको सूचना केन्द्रले परिवारलाई सहयोग गरिरहेको छ । राजेन्द्रको अवस्था पत्ता लगाउन परिवारले सबैसँग सहयोगका लागि आग्रह समेत गरेको छ । 
 
Published on: 9 February 2018 | Ujyaaloonline

Back to list

;