s

मलेसियाबाट अवैध कामदारलाई घर फर्किन फेरि ६ महिनाको मौका

मलेसियामा अवैधानिक रूपमा बसोबास गरिरहेका कामदारहरूलाई घर फिर्तीका लागि छ महिना समय थप  भएको छ । त्यसरी फर्कनको लागि यस अघि सन् २०१७ डिसेम्बर ३१ सम्मको समय दिइएको थियो । मलेसिया सरकारले उक्त समयलाई बढाएर आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म पु¥याएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । उक्त अवधिसम्म पुनः वैधानिक हुन तथा स्वेच्छिक घर फिर्ती कार्यक्रममा सहभागी हुन दूतावासले अवैध रुपमा त्यहाँ रहेका नेपालीहरुसँग आग्रह गरेको हो ।
 
दूतावासका अनुसार सन् २०१७ मा १५ हजार ८ सय ५५ जना नेपाल घर फिर्ती कार्यक्रममा सहभागी भएका छन् । अवैधानिक कामदारलाई स्वेंच्छिक घर फिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । बुक्ती मेघा, फारफेस रिसोर्स, इन्टरनेशनल माकेर्टिङ एण्ड नेट (आइएमएएन) रिसोर्स, केरिकम, पीएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन जेर्निही, प्रोफाउण्ड राडियन्स् र दुक्क्ति महलिगाईबाट सहयोग लिई अवैधानिक कामदारले स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरेको छ ।
 
त्यस्तै सन् २०१८ देखि कामदारको लेबी नकाटिने मलेसिया सरकारको घोषणा कार्यान्वयमा आउने दूतावासले जनाएको छ । दूतावासका श्रम सहचारी बाबुलाल रेग्मीले यस अघि मलेसिया सरकारले कामदारको लेबी काट्न नपाउने निर्णय गर्दा रोजगारदाता कम्पनीहरूबाट निकै विरोध गरिएको भए तापनि अहिले त्यसो नभएकाले उक्त व्यवस्था कार्यान्वयमा आउनेमा आफूहरू विश्वस्त रहेको बताए ।
 
Published on: 19 January 2018 | Madhyanha

Back to list

;