s

मलेसियाबाटै नेपाली कामदार ठगिएको पुष्टि

गोपाल साउद 

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदार ठगीमा परेको मलेसिया सरकारले पुष्टि गरेको छ । घुस लिएर भिएलएनलाई भिसा प्रक्रियाको जिम्मा दिएको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री दातुक सेरी डा अहमद जाहिद हमादीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएसँगै नेपाली कामदार ठगीमा मलेसियाको राज्यसंयन्त्र नै दुरुपयोग भएको देखिएको हो ।

भिएलएन, ओएससी, जिएसजी, आइएससी, बायोमेट्रिक मेडिकललगायतका संस्थाले पछिल्लो पाँच वर्षमा मलेसिया जाने नेपाली कामदारबाट ५ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको समाचार नयाँ पत्रिकाले करिब १४ महिनाअघि सार्वजनिक गरेको थियो । त्यसलगत्तै ती संस्थाविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कारबाही अगाडि बढाएका थिए । उक्त मुद्दा हाल काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा विचाराधीन छ । भिएलएन ठगीमा मलेसियाको पूर्ववर्ती सरकारका उपप्रधानमन्त्री नै संलग्न देखिएपछि विगत एक वर्षदेखि काठमााडौं र ललितपुर जिल्ला अदालतमा जारी मुद्दाको किनारा लगाउने आधारसमेत तयार भएको छ ।

भिएलएनउपर मलेसियाका विभिन्न नियमनकारी निकाय तथा त्यहाँको भ्रष्टाचारविरोधी आयोगले अनुसन्धान गरिरहेका छन् । सन् २०१६ मा पूर्ववर्ती मलेसियाली सरकारका गृहमन्त्रीले हमादीले अनियमित किसिमले त्यहाँको निजी कम्पनीलाई भिसा प्रणाली व्यवस्थापन गर्ने इलेक्ट्रोनिक ट्राभल रजिस्ट्रेसन तथा सूचना (इएनटिआरआई) को जिम्मा दिएको भन्दै मलेसिया भ्रष्टाचारविरुद्धको आयोग (एमएसिसी) ले त्यहाँको एक अदालतमा बुधबार मात्रै सातवटा भ्रष्टाचार मुद्दा दायर गरेको हो । इएनटिआरआई प्रणाली यस वर्षको जनवरीदेखि नै निलम्बनमा छ ।

भिएलएन ठगीमा संलग्नताको विषयमा अनुसन्धान प्रक्रियाले पूर्णता पाएसँगै आयोगले सोमबार हमादीलाई पक्राउ गरेको थियो । मलेसियाको प्रमुख प्रतिपक्षी दल युनाइटेड मलाया नेसन्स अर्गनाइजेसनका अध्यक्षसमेत रहेका ६६ वर्षीय नेता हमादीविरुद्ध आफ्नो कार्यकालमा भिसा प्रणाली (भिएलएन) सञ्चालका लागि अल्ट्रा किराना एसडिएन बिएचडी (युकेएसबी) नामक निजी कम्पनीसँग करिब ४७ करोड रुपैयाँ लिएको आरोप लागेको छ । मलेसिया जाने नेपाली कामदार ठगी आरोपमा मुद्दा खेपिरहेका रामकुमार श्रेष्ठ सञ्चालक रहेको भिएलएन नेपाल सोही अल्ट्रा किरानाको स्थानीय एजेन्ट कम्पनी हो । पूर्वउपप्रधानमन्त्री हमादीले २०१७ र २०१८ को मार्चमा चीनमा वन स्टप सेन्टर र भिएलएन सञ्चालनको करार अवधि लम्ब्याइदिने सर्तमा घुस रकम लिएको अभियोग आयोगले लगाएको छ । उक्त आरोप प्रमाणित भएमा उनी बढीमा २० वर्षका लागि जेल जानेछन् भने करोडौँ रुपैयाँ जरिवानामा समेत पर्नेछन् । अल्ट्रा किरानाबाट उक्त रकम लिएको आरोप छ । यससँगै हमादीविरुद्धका मुद्दाको संख्या ५४ पुगेको छ ।

हमादीले गोपनियता भंग र हुन्डी (मनी लन्डरिङ) सम्बन्धी ४७ वटा आपराधिक मुद्दाको सामना यसअघिदेखि नै गर्दै आएका छन् । जसमा उनले करिब २ अर्ब ५० करोड रुपैयाँ घुस खाएको अभियोग छ । हमादीविरुद्ध भिएलएनसँगै सम्बन्धित थप ४० भ्रष्टाचार मुद्दा लगाउने तयारी भइरहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । युकेएसबीले नेपालसहित चीन, भारत, बंगलादेश र पाकिस्तानमा इएनटिआरआई प्रणालीमार्फत भिसा आवेदन प्रक्रिया सञ्चालनको थोक अधिकार लिएको थियो ।

भ्रष्टाचारविरोधी आयोगले भिएलएनका नाममा भएको भ्रष्टाचार तथा अनियमिततासम्बन्धी पूर्ण प्रतिवेदन मलेसियाको गृहमन्त्रालयलाई बुझाउने तयारीसमेत गरेको छ । आयोगका उपप्रमुख आयुक्त आजम बाकिलेले आफ्ना अधिकारीहरूले सकेसम्म चाँडो प्रतिवेदन बुझाउने जानकारी सञ्चारमाध्यमलाई दिएका छन् । ‘भिएलएन प्रणालीमा रहेका कमजोरीमा उपर्युक्त कदम चाल्न सकिने गरी प्रतिवेदन बुझाउँदै छौ,’ पूर्वउपप्रधानमन्त्री हमादीको भ्रष्टाचार मुद्दामा सहभागी उनले भनेका छन् ।

Published on: 27 June 2019 | Naya Patrika

Back to list

;