s

मलेसियाबाट र्फकेका २ युवा बाटोमै लुटिए

वैदेशिक रोजगारीबाट घर र्फकन लागेका २ युवा काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा बेहोस बनाएर लुटिएका छन् । कैलालीको रामशिखरझाला २ पहलमानपुरका सीताराम गिरी र कञ्चनपुरको दैजी ४ का नारायणसिंह रावललाई खाने कुरामा नशालु पदार्थ मिसाएर बेहोस बनाई शनिबार राति लुटिएको हो । आइतबार साँझ बेहोस अवस्थामा महेन्द्रनगर पुगेका दुवैलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।

तीन वर्षअघि मलेसिया गएका दुवैबाट ३ लाखभन्दा बढी नगद र जिन्सी सामान लुटिएको छ । पीडित गिरीले आफूसँग रहेको ८५ हजार नगद, १ तोला सुन, १ थान आइप्याड र ४ थान मोबाइल सेट लुटिएको बताए । अर्का पीडित रावलले आफूसँग रहेको ५५ हजार नगद, आधा तोला सुन र १ थान मोबाइल लुटिएको बताए । 'सानो झोलामा राखिएको सबै सामान लुटियो,' अस्पतालमा गिरीले भने, 'होटेलवालाले नै लुटेको हो ।' चितवनको रामनगरमा खाना खाएर बसमा चढ्दासम्म दुवै होसमा रहेको उनले बताए । उनले भने, 'महेन्द्रनगर पुगेको मात्रै थाहा पायौं ।' उनीहरूले रामनगरस्थित सिद्धबाबा होटेलमा खाना खाएका थिए । पीडितहरूले बस मालिक र चालकले आफूहरूलाई बेवास्ता गरेको बताए । आइतबार साँझ महेन्द्रनगरमा वडा प्रहरीको जिम्मा लगाएपछि मात्र आफूहरूलाई अस्पताल पुर्‍याइएको रावलले बताए ।

महाकाली यातायातको ना४ख ६७५ नम्बरको बसमा महेन्द्रनगर आउँदै गर्दा होटलमै खानामा नशालु पदार्थ मिसाएर खुवाएको उनीहरूको आशंका छ । घटनामा बस कर्मचारीको पनि मिलेमतो रहेको आरोप उनीहरूको छ । यसअघि साउन अन्तिम साता महाकाली यातायातका छुट्टाछुट्टै बसमा यात्रा गरिरहेका ३ जना यात्रु बेहोस बनाएर लुटिएका थिए । उनीहरू महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै थिए । वडा प्रहरी महेन्द्रनगरका निरीक्षक पुष्कर चन्दले घटनाबारे छानबिन भइरहेको बताए । 

Published on: 17 September 2013 | Kantipur

Back to list

;