s

मलेसियाबाट ५५ अर्ब रेमिट्यान्स

 रहेका नेपालीले सन् २०१२ मा १ अर्ब ९० करोड रिंगिट (करिब ५५ अर्ब रुपैयाँ) रेमिट्यान्स नेपाल पठाएका छन् । मलेसियामा हालै सार्वजनिक एक तथ्यांकअनुसार यहाँ कार्यरत नेपालीले गत वर्ष कानुनी तबरबाट उक्त रकम नेपाल पठाएका हुन् । तथ्यांकअनुसार मलेसियाबाट रेमिट्यान्स भित्र्याउने मुलुकहरूमा नेपाल तेस्रो स्थानमा परेको छ ।

मलेसियाबाट सबैभन्दा बढी रेमिट्यान्स बंगलादेशले भित्र्याएको छ भने दोस्रो स्थानमा इन्डोनेसिया रहेको समाचार संस्था बर्नामाले उल्लेख गरेको छ । बंगलादेशले गत वर्ष ३ अर्ब रिंगिट र इन्डोनेसियाले २ अर्ब ९५ करोड रिंगिट रेमिट्यान्स भित्र्याएका छन् । नेपालको छिमेकी मुलुक भारतले मलेसियाबाट गत वर्ष ६२ करोड ५१ लाख रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ ।

'कानुनी रूपमा स्थापित वित्तीय संस्थाहरूको सुधारका कारण सन् २००९ देखि रेमिट्यान्स करिब १० अर्ब रिंगिटबाट २०१२ मा २० अर्ब रिंगिटसम्म पुगेको छ,' मलेसियाली सहायक अर्थमन्त्री दातुक अहमद मासलनको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । कानुनी रेमिट्न्यास सेवा मुुलुकभर विस्तार भएकाले बाहिरिने रेमिट्यान्स बढेको बताइन्छ । उत्पादन, निर्माण, कृषि र सेवा क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका छन् । नेपालीका लागि सेवा र उत्पादन क्षेत्र सबैभन्दा बढी आकर्षक मानिन्छन् । सेवा क्षेत्रमा पनि सुरक्षागार्ड सबैभन्दा 'आकर्षक' पेसा मानिन्छ ।

कानुनी रूपमा खुलेका रेमिट्यान्स सेवादायक कम्पनीले पछिल्ला वर्ष मलेसियाव्यापी शाखा विस्तार गरेकाले कानुनी रूपमा नेपाल भित्रिने रेमिट्यान्समा पनि वृद्धि हुँदै गएको हो । 'रेमिट्यान्स कम्पनीहरूको व्यापक विस्तारसँगै कानुनी रूपमै पैसा पठाउनेहरू बढेका छन्,' जेठो रेमिट्यान्स कम्पनी आईएमई मलेसियाका म्यानेजर शिव सुवेदी भन्छन्, 'पछिल्लो समय कानुनी बाटोबाट पैसा पठाउँदा सुरक्षित हुन्छ भन्ने जनचेतना वृद्धि र डलर वृद्धिले गर्दा पनि नेपाली लाभान्वित भइरहेका छन् ।' उनका अनुसार आईएमईका मात्रै मलेसियाभर ६९ शाखा छन् ।

यसबाहेक गैरकानुनी बैंकिङ च्यानलबाट समेत नेपाल रकम भित्रिने गरेको छ । कानुनी रूपमा खुलेका रेमिट्यान्स कम्पनीले भन्दा केही रकम बढी दिने हुँदा त्यस्ता गैरकानुनी बैंकिङ च्यानलमार्फत नेपालमा रकम पठाउन आकषिर्त हुनेहरू उत्तिकै छन् ।

मलेसियाले गत सन् २०११ देखि मुलुकमा रहेका मनीचेन्जरहरूलाई समेत पैसा पठाउन सक्ने सेवाका लागि अनुमति दिएको छ । नेपालीका लगानीमा सञ्चालित आईएमई, प्रभु मनी ट्रान्सफरसहित मलेसियामा दर्जनभन्दा बढी रेमिट्यान्स सेवाप्रदायक कम्पनी सञ्चालनमा छन् ।  

Published on: 13 November 2013 | Kantipur

Back to list

;