s

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगिट पाइने

मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ। शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् । हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।

सरकारले केही महिनाअघि पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गरिने जनाएको थियो । त्यसपछि कामदारसँग सरोकारवाला विभिन्न संघसंस्थाहरु मलेसियन ट्रेड युनियन कंग्रेस, नेशनल युनियन अफ बैंक ईम्प्लोइज, मलेसिया मुडा, पार्टी सोसियालिस्‌लगायत संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले संसद भवन बाहिरसमेत प्रदर्शन गरेका थिए । ती मागका सम्बन्धमा मानव संशाधन मन्त्री एम कुला गेसरनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्री कुलाले ती मागका सम्बन्धमा अबिलम्ब मन्त्रिपरिषद्‍मा छलफल गरिने वचनबद्धता दिएका थिए ।

मलेसियामा बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । तर कतिपय रोजगारदाता भने सरकारले ल्याएको न्युनतम पारिश्रमिक बृद्धिप्रति सहमत छैनन् । मलेसियाले हरेक दुई दुई वर्षमा ‘न्युनतम पारिश्रमिक नीति’ मा पुनरावलोकन गर्ने प्रावधान छ ।

Published on: 2 November 2018 | Kantipur

Back to list

;