s

मलेसिया रोजगारीमा नयाँ सम्झौता, प्रतिकामदार ४५ डलर तेस्रो कम्पनीलाई

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने गरी एक निजी मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । बोर्डले मलेसियामा रहेका नेपाली कामदारको हित र सुरक्षासँग सम्बन्धित काम हेर्न दिने नाममा मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग सम्झौता गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिन दिन्रेनगानबीच मंसिर २० गते सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको हो ।

सम्झौतापछि सेन्टरको कार्यालय उद्घाटन गर्न कार्यकारी निर्देशक उप्रेती मलेसिया गएका थिए । सम्झौता कार्यान्वयन गराउन बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्रले सम्झौतामाथि अध्ययन भइरहेको जनाएको छ ।

सम्झौता कार्यान्वयन भए मलेसियाका रोजगारदाताले नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गर्न प्रत्येक कामदार ४५ अमेरिकी डलरका दरले बुझाउनुपर्नेछ ।

शुल्क बुझाएको रसिद पेस गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्नेछ । यो शुल्क रोजगारदाता कम्पनीले नेपाल सरकारलाई बुझाएको राजस्वबाहेक थप हो ।

Published on: 8 January 2024 | Kantipur

Link

Back to list

;