s

मलेसिया रोजगारी : रिंगिटसँगै कमिशन पनि बढ्यो

रोजगारीमा जाने कामदारको संख्या बढेसँगै मलेसियाको रोजगारीमा कमिशनको जालो पनि फेरि बलियो बन्न थालेको छ । सरकारले फ्री भीषा र फ्री टिकटको निर्णय कडाइका साथ कार्यान्वयन गरेको दावी गरेपनि कतिपय व्यवसायीहरुले भने मलेसिया जाने कामदारको १ हजार रिगेटदेखि २ हजार पाँच सय रिगेट(७० हजार)सम्म कमिशन तिरेर डिमाण्ड ल्याउने गरेका छन् । व्यवसायीहरुको होडवाजीले हवाइ टिकट र भीषा शुल्क नलिने कम्पनीका डिमाण्डहरुमा पनि कमिशन दिनेपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् ।
 
गत जेठदेखि मलेसिया जाने नेपाली कामदारको संख्या बढन थालेको हो । गत जेठयता मंसिर र माघबाहेकका आठ महिनामा मलेसिया नेपाली कामदारको पहिलो रोजाई बनेको छ । त्यसअघि, कतार र खाडीका अन्य मुलुक नेपाली कामदारको पहिलो रोजाइमा पर्ने गरेको थियो । गत वर्षको आठ महिनाको तुलनामा चालु वर्षको आठ महिनामा २० हजार भन्दा बढी नेपाली कामदार मलेसिया गएका छन् ।
 
खाडी मुलुकमा देखिएको आर्थिक मन्दी र मलेसियन रिंगिटमा आएको क्रमशः सुधारले मलेसिया जानेको संख्यामा सुधार देखिएका हो । नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुक जाने कामदारको संख्या निरन्तर घट्दो दरमा देखिएको छ । त्यसको तुलनामा मलेसिया र कोरिया जाने कामदारको संख्या बढेको छ ।
 
मलेसियामा नेपाली कामदारको रुचिमा आएको बृद्धिसँगै उक्त मुलुकको रोजगारीमा औपचारिक÷अनौपारिक दुवै प्रकारका सिण्डिकेट देखिने गरेको व्यवसायीहरुको भनाई छ । मलेसियाको रोजगारीमा रहेको सिण्डिकेट हट्नुपर्ने भन्दै प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरुसम्म नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत् पहल र लविड भइरहेको छ । तर, मलेसिया कामदार पठाउन १५ देखि २० वटा म्यानपावरको अनौपचारिक सिण्डिकेट खडा गरिने चर्चा पछिल्ला दिनमा व्यवसायीहरुमाझ व्यापक भएको छ । मलेसियाबाट आउने डिमाण्ड सोही अनौपचारिक सिण्डिकेटभित्रका म्यानपावरमार्फत् पेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको बताइएको छ । हाल काम गरिरहेका एक हजारभन्दा बढी म्यानपावरमध्ये आधा भन्दा बढी म्यानपावर कम्पनीहरुले मलेसिया कामदार पठाउने गरेका छन् । मलेशियामा सम्भवतः आगामी मे मा निर्वाचन हुँदैछ । उक्त चुनावपछि आउने सरकारको विदेशी कामदार सम्बन्धी नीतिमा नेपाली कामदारबारे रोजगारी निर्भर हुने जानकारहरु बताउँछन् ।
 
Published on: 1 April 2018 | Madhyanha

Back to list

;