s

मलेसिया रोजगारी अझै अन्योलमा

रुद्र खड्का 

अर्को महिनादेखि पुनः सुरु गर्ने भनिएको मलेसिया रोजगारी कोरोना महामारी लगायत अन्य समस्याले अझै अन्योलमा छ।मलेसियास्थित नेपाली राजदूतावासका अनुसार सर्तसहित खोल्ने भनिएको रोजगारी सुरु हुन अझै केही समय लाग्ने देखिएको छ।

दूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार रोजगारी सुरु गर्ने विषयमा अहिलेसम्म मलेसिया सरकारले कुनै जानकारी दिएको छैन। रोजगारदाताले पनि कसैको मागपत्र प्रमाणीकरण गरेका छैनन् ।कुनै पनि गन्तव्य मुलुकका रोजगारदाताले श्रमिक आपूर्ति गर्दा सबभन्दा पहिला सम्बन्धित मुलुकमा रहेका दूतावासले कामदारको मागपत्र प्रमाणीकरण गर्नुपर्छ।

मागपत्र प्रमाणीकरण गर्नुको उद्देश्य खराब कम्पनीमा नेपाली श्रमिक जान नपाउन भनेर हो। ढकालले रोजगारदाताले नेपाली श्रमिक बोलाउन उपल्लो निकायमा दबाब दिने काम गरिरहेकाले अर्को महिनासम्म केही निर्णय हुन सक्ने अनुमान गरे।

‘अचेल मलेसियामा विदेशी कामदारको अभाव छ,’ उनले भने, ‘त्यही भएर सम्झौता अवधि सकिएका श्रमिकलाई पनि रोजगारदाताले घर फर्कन दिइरहेका छैनन्। नयाँ कामदारलाई अनुमति दिए सबैलाई सजिलो हुने देखिन्छ।’ मलेसियामा अझै कोरोना महामारी कायमै रहेकाले तत्काल विदेशी कामदारलाई भित्र्याउने वा भित्र्याउने तथा भित्र्याउँदा सुरक्षाका कस्ता मापदण्ड अपनाउने भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ।

हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया हो। कोरोना महामारी सुरु भएदेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख नेपाली मलेसिया रोजगारीमा गएका छन्। तीमध्ये अझै करिब दुई लाख जति मलेसियामै रहेको ढकालको भनाइ छ। ‘महामारीकै अवधिमा करिब एक लाख घर फर्किएका छन्,’ उनले भने।

मलेसियामा रहेका अधिकांशको सम्झौता अवधि सकिएको बताइएको छ। तर रोजगारदाताले अनुमति नदिँदा उनीहरू घर फर्कन पाएका छैनन्।पछिल्लो समय रोजगारदाताले श्रमिकलाई पारिश्रमिक दिनेमा भने कुनै समस्या नरहेको उनको भनाइ छ। विगतमा मलेसियाका रोजगारदाताले समयमा पारिश्रमिक नदिएको भन्दै श्रमिकले गुनासो गर्ने गर्थे।

अचेल मलेसियामा दैनिक साढे चार हजार हाराहारीमा कोरोना संक्रमित भेटिने गरेको बताइएको छ। कुल जनसंख्याको ७५ प्रतिशतमा कोरोनाविरुद्धको खोप लगाइएको छ। ढकालका अनुसार खोप विदेशी र स्वदेशी नभनी सबैलाई समान ढंगले लगाउने गरिएको छ। उनले आउँदो डिसेम्बरसम्म कोरोनाविरुद्धको खोप सबैलाई लगाएर अवस्था सामान्य तुल्याएपछि नयाँ रोजगारी सुरु हुने अनुमान गरे। अन्य काममा मलेसिया जान भने खुला भइसकेको छ।

कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो। मलेसिया रोजगारी बन्द भएको करिब दुई वर्ष भइसकेको छ। अन्य गन्तव्यबाट कामदारको माग बढ्दै सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी ठप्प भए पनि अन्य मुलुकमा जाने नेपालीको संख्या भने बढ्दो छ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार दसैं र तिहारपछि विदेश जानेको संख्या बढ्न थालेको छ। यतिखेर दैनिक ७–८ सय कामदार रोजगारीका लागि विदेश जान थालेको व्यवसायी बताउँछन्। मलेसियाबाहेक खाडी मुलुकबाट कामदारको माग बढेको छ।

असोजमा ४० हजार बिदेसिए

विभागका अनुसार असोजमा रोजगारीका लागि ४० हजारले श्रम स्वीकृति लिएका छन्। कात्तिकमा वैदेशिक रोजगारीमा जानेको संख्या अझै बढेको अनुमान छ। यद्यपि कात्तिकको तथ्यांक आउन बाँकी छ। गत वर्षको असोजमा श्रम स्वीकृति लिएर करिब आठ हजार युवायुवती वैदेशिक रोजगारीमा गएका थिए।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी ४१ हजार आठ सय २८ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै पुनः वैदेशिक रोजगारीले गति लिने अनुमान गरिएको छ।

मंसिर दोस्रो सातादेखि कोरिया रोजगारी पनि सुरु गर्ने तयारी गरिएको छ। कोरोना महामारी सुरु हुनुअघिसम्म श्रम स्वीकृति लिएर दैनिक औसत एक हजार पाँच सय युवायुवतीले वैदेशिक रोजगारीको बाटो तताउने गर्थे।

स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुँदा यतिखेर ठूलो संख्याका युवायुवती बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जान बाध्य छन्। वैदेशिक रोजगारीमा गएका तिनै युवायुवतीले पठाएको रेमिटेन्सले अर्थतन्त्रको भरथेग हुँदै आएको छ।

चालु आर्थिक वर्षको दुई महिनामा रेमिटेन्स आप्रवाहमा गिरावट आएका कारण शोधनान्तर घाटा बढेको छ। गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका युवायुवतीले हालसम्मकै उच्च नौ खर्ब ६१ ऋर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए।कोरोना महामारीमा अर्थतन्त्रको समग्र अवस्था खराब हुँदा पनि रेमिटेन्सले ठूलो योगदान पुर्‍याएको थियो। विज्ञहरूले सरकारलाई वैदेशिक रोजगारीको साटो युवायुवतीलाई स्वदेशमै रोजगारी सिर्जर्ना गर्ने उपायमा लाग्न आग्रह गर्दै आए पनि अहिलेसम्म त्यस्ता योजना आउन सकेका छैनन्।

सरकारको नेतृत्व गर्नेहरूले वैदेशिक रोजगारीको विकल्प खोज्नुपर्ने बताउने गरे पनि व्यवहारमा त्यस्ता कुनै योजना ल्याएको पाइँदैन।विज्ञहरूले वैदशिक रोजगारीलाई बर्खाको खहरे खोलासँग तुलना गर्ने गर्छन्। जसरी वर्षातको बेला खहरे खोलामा पानीको बहाव बढ्छ, त्यसरी नै युवाले केही समयका लागि मनग्यै रेमिटेन्स पठाउने गरे पनि दीर्घकालका लागि रेमिेटेन्स नआउने उनीहरूको भनाइ रहँदै आएको छ।

केही वर्षयता वैदेशिक रोजगारीमा गएका युवायुवतीले रामै्र रेमिटेन्स पठाउने गरे पनि त्यस्तो रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छैन। केन्द्रीय तथ्यांक विभागका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सको कुल रकममध्ये दुई प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छ। अधिकांश रकम दैनिक गुजारा र विलासितामा खर्च हुँदा धेरैलाई चिन्तित बनाउँदै आएको छ।

वैदेशिक रोजगार बोर्डका निर्देशक दीनबन्धु सुवेदी वैदेशिक रोजगारीका लागि अब नयाँ गन्तव्य मुलुक खोज्न जरूरी भइसकेको बताउँछन्।‘साउदी लगायतका कतिपय मुलुकमा नेपाली श्रमिक निकै समस्यामा पर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले श्रमिकलाई सम्मान नगर्ने गन्तव्यको विकल्प खोज्न ढिलाइ गर्नु हुँदैन ।’ राम्रा गन्तव्य मुलुक छनोट गरी श्रमिकलाई पठाउन सक्ने हो भने एकातिर वैदेशिक रोजगारीमा जानेलाई प्रत्यक्ष लाभ हुन्छ भने अर्कोतर्फ रेमिटेन्स आप्रवाह वृद्धि हुन्छ। 

Published on: 16 November 2021 | Nagarik

 

Link

Back to list

;