s

मलेसिया रोजगार खुल्ने

नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको पुत्राजयमा शुक्रबार भएको द्विपक्षीय वार्तामा उच्च अधिकारीबीच बन्द अवस्थामा रहेको मलेसिया रोजगार खुला गर्ने लिखित सहमति भएको छ ।

मलेसियाका राजदूत कुमारराज खरेलले छलफलका क्रममा नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको जानकारी दिए । ‘मस्यौदालाई अन्तिम रुप दिँदै वार्ता उत्साहपूर्ण रूपमा सफल भयो’, उनले भने । मलेसिया नेपाली कामदारका लागि मुख्य गन्तव्य भए पनि कामदार जान थालेको १७ वर्षसम्म श्रम सम्झौता हुन सकेको थिएन । नेपालले पटकपटक श्रम सम्झौताका लागि पहल गरे पनि मलेसियालाले आनाकानी गर्दै आएको थियो ।

छलफलका क्रममा कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषय सम्बोधन भएको राजदूत खरेलले बताए । नेपालको मुख्य चासोको रूपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेपछि कूटनीतिक माध्यमबाट हस्ताक्षरको मिति तत्कालै तय गरी सम्झौता हुनेछ । आन्तरिक तयारीपश्चात मलेसियनमन्त्री नेपाल आएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँग सम्झौता हुने खरेलले जानकारी दिए ।

सहमति भएसँगै अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाका नाममा कामदारको अतिरिक्त शुल्क अब रोजगारदाताले नै तिर्नेछन् । मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवाली संयोजकत्वमा वार्ता टोलीले मलेसियाको मानव संशाधन र गृहमन्त्रालयको टोलीसँग वार्ता गरेको हो । टोलीमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख पापत अधिकारी, कानुन मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल र मलेसियास्थित राजदूत कुमारराज खरेलले मलेसियाको टोलीसँग वार्ता गरेका हुन् ।

मलेसिया रोजगारीका नाममा विभिन्न अवैधानिक संस्थाले अवैधरूपमा कामदारबाट मोटो रकम असुल्न थालेपछि सरकारले विगत तीन महिनादेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयले मलेसिया रोजगारीका नाममा अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गर्ने निर्णय गरे पनि ती संस्थाले कामदारमाथि थप आर्थिक भार पार्न नरोकेपछि सरकारले मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।

वैदेशिक रोजगार विभागकाअनुसार मलेसियामा ६ लाख नेपाली कामदार छन् । नेपाल भित्रिने कुल रेमिटमध्ये ३५ प्रतिशतभन्दा बढी मलेसियाले ओगट्दै आएको छ ।

Published on: 26 September 2018 | Annapurna Post

Back to list

;