s

मलेसिया रोजगार खुलाउन आग्रह

छाया सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा.डिला संग्रौलाले मलेसिया रोजगार छिटो खुलाउन आग्रह गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले नेपालीको मुख्य गन्तव्य मलेसिया भएकाले तत्काल खोल्नुको विकल्प नभएको बताइन्।

लाखौं युवा वैदेशिक रोजगारीका लागि मलेसिया जानबाट बञ्चित भएको भन्दै छिटो रोजगार खुलाउन आग्रह गरेकी हुन्। मलेसियामा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन्। गत १ वर्षदेखि मलेसिया रोजगार रोकिएपछि मलेसियाले नेपालको विकल्प खोज्न सक्ने उनको आशंका छ। नेपालीका लागि रोजगारीको अवसर खुम्चिदै गएको भन्दै रोजगार खुलाउन सरकार असफल भएको उनको भनाइ छ। कात्तिक १२ मा दुइ देशबिच पहिलोपटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रूपमा नेपाली कामदार पठाउने काम सुरु गरेको छैन। हजारौं मजदुरलाई ठगी गर्ने विरुद्ध तत्काल कारवाही गरी नयाँ प्रणालीबाट कामदार पठाउन आग्रह गरिन्। ‘ठगी गर्ने नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको छ। यस सम्बन्धमा सम्बन्धित श्रम तथा रोगार मन्त्रालयका मन्त्रीको ध्यनकार्षण गराउन चाहन्छु’, उनले भनिन्।

Published on: 4 June 2019 | Annapurna Post

Back to list

;