s

मलेसिया रोजगारी : ९९ संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने (सूचीसहित)

तुलसी सुवेदी

मलेसिया रोजगारीका लागि ९९ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० स्वास्थ्य संस्थाको अनुगमनमा ९९ योग्य देखिएका हुन्।  यसअघि ३७ संस्थाले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। एउटा भने यो अनुगमनमा अयोग्य देखिएको छ।

मन्त्रालयका अनुसार सुनापति पोलिक्लिनिक एण्ड हेल्थ सेन्टर प्रालि मलेसियाले पठाएको मापदण्ड नपुगेपछि अयोग्य ठहरिएको हो। यससँगै मलेसिया रोजगारीका लागि इच्छुक १ सय ३८ स्वास्थ्य संस्था अयोग्य भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। मन्त्रीस्तरीय निर्णय गरेर छनोटमा परेका संस्थाको सूचना प्रकाशित गरिएको हो। 

स्वास्थ्य परीक्षणमै मलेसियासँग कुरा नमिलेर १३ महिनादेखि मलेसिया रोजगारी बन्द छ। मलेसियासँग छिट्टै प्राविधिक कमिटीको बैठक तय गरेर रोजगारी खुला गर्ने मन्त्रालयको तयारी छ। मन्त्रालयको विशेष टोलीले चारवटा समूह बनाएर अनुगमन गरेको थियो। छनोटमा उपत्यका र बाहिरका केही ठुला अस्पताल तथा मेडिकल कलेजसमेत परेका छन्। 

स्वास्थ्य संस्था निरीक्षणका लागि तीनवटा टोली उपत्यकाबाहिर खटिएका थिए।  एक टोलीले उपत्यकाभित्रका स्वास्थ्य संस्थाको निरीक्षण गरेको थियो। टोलीमा तीनजना स्वास्थ्य प्राविधिक र मन्त्रालयका एक अधिकृत सहभागी थिए। मन्त्री विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गतवर्ष जेठदेखि मलेसिया रोजगार बन्द छ।कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियागत अस्पष्टताका कारण रोजगारी खुल्न  सकेको छैन। 

Published on: 6 July 2019 | Annapurna Post

Back to list

;