s

मलेसिया र खाडीका नेपालीलाई ‘पासपोर्ट' शुल्क घट्यो

 
काठमाडौँः सरकारले मलेसिया तथा खाडी मुलुकमा रहेका नेपालीहरुका लागि पाँच हजार रुपयाँ (५० अमेरिकी डलर) मा राहदानी प्राप्त गर्नसक्ने व्यवस्था मिलाएको छ । 
 
वैदेशिक रोजगारमा ती मुलुकमा रहने नेपालीलाई आर्थिका बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय लिएको हो । राजपत्रमा सूचना प्रकाशित भएपछि यो निर्णय लागू हुने परराष्ट्रले जनाएको छ । 
  
‘मलेसिया तथा मध्यपूर्व एसियामा कार्यरत रही विप्रेषणमार्फत् नेपालको सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान पु¥याउनुहुने नेपाली दाजुभाइ दिदीबहिनी राहदानी शुल्क सम्बन्धी नयाँ व्यवस्थाले लाभान्वित हुनेछन्’ परराष्ट्रले भनेको छ । 
 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साविकमा रहेको ८ हजार रुपयाँ (८० अमेरिकी डलर) बाट घटाएर पाँच हजारमै राहदानी पाउने व्यवस्था गरेको हो । 
 
कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेबनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन, यमन र मलेसियामा रहेका प्रवासि नेपालीका लागि यो नयाँ व्यवस्था भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
‘सो शुल्क नेपालमा जिल्ला प्रशासन कार्यालयमार्फत् राहदानी लिंदा तिनुपर्ने न्यूनतम शुल्क बराबर छ’ परराष्ट्रले प्रेस विज्ञप्तिमा भनेको छ । अहिले जिल्ला प्रशासन कार्यालयबाट एक महिनामा राहदानी लिँदा पाँच हजार तिर्नुपर्छ ।
 
Published on: 2 September 2016 | Annapurna Post

Back to list

;