s

मलेसिया र ब्रुनाईमा अलपत्र नेपालीले निःशुल्क हवाई टिकट पाउने

मुकुन्द गैरे

काठमाडौँ, साउन २१ गते । मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् । मलेसियामा रहेको नेपाली राजदूतावासले आज (बुधवार) एक सूचना जारी गर्दै नेपालमा श्रम स्वीकृति लिई यी दुई देशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्कने इच्छा भए निवेदन दिन अनुरोध गरेको हो । 

वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारहरूको उद्वार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ अनुसार वैदेशिक रोजगार बोर्डको कोषबाट हवाई टिकट पाउने व्यवस्था भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । 

टिकटका लागि आवेदन दिन सक्ने व्यक्तिहरू नेपालबाट श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको हुनुपर्नेछ । सम्बधित गन्तव्य मुलुकको सरकार (मलेसिया वा ब्रुनाई) रोजगारदाता, रोजगारीमा पठाउने ईजाजतपत्रवाला संस्था वा अन्य श्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा नेपाल फर्कन नसक्ने अवस्थाको कामदार हुनुपर्नेछ । 

साथै, थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारहरूले समेत आवेदन दिन सक्नेछन् । टिकट प्राप्त गर्ने व्यक्तिहरूको चयन प्राथमिकताका आधारमा गरिने बताएको छ ।

पहिलो सजायबाट आममार्फी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल जान अनुमति प्राप्त भएका नेपाली प्राथमिकतामा पर्ने छन् । जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका वा रोजगारी गुमाएका पनि प्राथमिकतामा पर्ने दूतावासले बताएको छ । 

रोजगारमा गएको एक वर्षभन्दा कम अवधिमा रोजगारी गुमाएकाले सम्पूर्ण खर्च पाउनेछन् । एक वर्षदेखि तीन वर्षभित्रको समयमा रोजगारी गुमाएकाले ७५ प्रतिशत खर्च पाउनेछन् ।

पुनः श्रम स्वीकृति लिई गएको कामदारको हकमा ५० प्रतिशत र श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारको हकमा सम्पूर्ण खर्च पाइने दुतावासले बताएको छ । 

कुनै निकायबाट आंशिक सहयोग प्राप्त भएको भएमा बाँकी अपुग रकम पाइने व्यवस्था भएको सूचनामा उल्लेख छ । विमानस्थलदेखि क्वारेण्टिन सेन्टरसम्म जान लाग्ने सम्पूर्ण खर्चको सुविधा रहेको बताइएको छ ।  नेपाली राजदूतावासमा स्वयं उपस्थित भई वा राजदूतावासको इमेल, हटलाईन नम्बर वा ह्वाट्स एपमार्फत् पनि निवेदन पेश गर्न सकिने सुविधा रहेको छ ।

टिकटको लागि निवेदनका साथै राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि संलग्न गर्न आवश्यक छ । 

आवेदनकर्ताहरूको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजहरूको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार बेर्डमा पठाइनेछ । बाेर्डको कोषबाट रकम निकासा भएपश्चात् हवाई टिकट उपलब्ध गराइनेछ ।

टिकट उपलब्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा निजको माग पत्र पाँच वर्षसम्म प्रमाणीकरण नगरिने समेत दूतावासले स्पष्ट पारेको छ । कुनै व्यक्तिले हवाई टिकटको सुविधा लिने मनसायले झुट्टा विवरण भरी सुविधा लिइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिनेसमेत मलेसियामा रहेको नेपाली राजदूतावासले बताएको छ ।

Published on: 5 August 2020 | Gorkhapatra

Link

Back to list

;