s

मलेसियामा युवाको बिचल्ली

माधव घिमिरे

मलेसियामा रहेका ज्वाइँ सुनिल साहले सुनसरीको दुहबीकी उर्मिला हलुवाई साहलाई केही दिनअघि फोन गरेर आफूले भोगेको पीडा पोखे । 'आमा नेपालै र्फकन्छु, यहाँ अघाउँजी खाना खान पाइएन, उनले भने, साह्रै दुःख भयो । एक हप्तादेखि ज्वरोले थला परेको छु । उपचार गराइदिंदैनन् ।'

कहिलेकाहीँ काममा लगाएर बढीजसो कोठामा थुनेर राख्ने गरेको सुनिलले सुनाए । 'फोन गरेर ज्वाइँ रोएको रोयै गर्छन्,' उर्मिलाले भनिन्, 'समूहलाई १० किलो मात्र चामल दिंदारहेछन् । कसरी बाँच्लान् ?'

दुहबीकै पुनम सरदारलाई पनि पति रोशनले फोनमा यस्तै पीडा सुनाए । गाउँबाट गएका १४ भन्दा बढी युवाको परिवारलाई आफन्त र तिनका साथीले मलेसियाबाट यस्तो खबर सुनाएपछि सबै एक भए । सोमबार उनीहरू दुहबी-भलुवा नगरपालिका परिसरमा भेला भएर म्यानपावर कम्पनीका प्रतिनिधिलाई आफन्त फर्काइदिन आग्रह गरे ।

यसरी आग्रह गर्नेमध्येकी पुनम दुई वर्षको बच्चा काखी च्यापेर आएकी थिइन् । पति रोशन सरदारले बस्न गाह्रो भएकाले घरै र्फकने भनेर बारम्बार फोन गर्ने गरेको बताइन् । 'यहाँ बस्न नसकिने रहेछ । यत्तिकै मरिन्छ जस्तो छ' रोशनले फोनमा भनेको उनले सुनाइन्, 'कता भनेर हुन्छ ? नेपाल र्फकाउने व्यवस्था मिलाउनु ।'

व्यक्तिगत रूपमा सम्पर्क गरेर आग्रह गर्दा कम्पनीका प्रतिनिधिले उल्टै धम्क्याए । 'धेरै हल्ला नगर्नु । नत्र तिम्रा मान्छेलाई उतै छाला काढेर राख्छ' कम्पनीका प्रतिनिधिले दिएको धम्की उद्धृत गर्दै एकजना पीडितका आफन्त शिव साहले भने । आफन्तले फोनमा रेकर्ड गरेको कुराकानीमा बिरामी पर्दा पनि उपचार नपाएको भन्दै मलेसियामा रहेका केही युवा रोएको सुनिएको छ । कुराकानीको रेकर्ड आफन्तले संवाददातालाई सुनाएका थिए ।

रोशन र सुनीलजस्ता दुहबीका १४ जना युवा मलेसियाको जोहरबारु आसपासका फर्निचर कम्पनीमा काम गर्न लगिएका हुन् । गत वर्ष असोजतिर लगिएका उनीहरूले म्यानपावर कम्पनीलाई एक लाखदेखि डेढ लाख रुपैयाँसम्म बुझाएका थिए । 'भाइलाई जग्गा बन्धकी राखेर पठाएको' मलेसियामै रहेका अर्जुन साहका दाजु गंगाले भने, 'मासिक १ हजार ४ सय रिंगेट दिने भनेको थियो । त्यहाँ ६ सयमात्र दिइएको रहेछ ।' उनीहरूलाई पठाउने म्यानपावरका प्रतिनिधिले महिनैपिच्छे पारिश्रमिक बढ्छ भनेका थिए । सुरुदेखि एक पैसो नबढेको पीडितका परिवारले बताए ।

आफन्तहरूले फोनमा रोइकराई गरेपछि एजेन्ट खोज्दै सोमबार भेला भएका गाउँलेले म्यानपावर कम्पनीका प्रतिनिधि स्थानीय जीवन गोश्वामीलाई आफ्ना मान्छे फिर्ता ल्याइदिन दबाब दिएका थिए । गोश्वामीले फिर्ता ल्याउने प्रक्रिया थाल्न काठमाडौंस्थित कम्पनीको कार्यालयलाई आग्रह गरेको बताए । उनीहरू सबै काठमाडौंको सिनामंगलस्थित ग्रान्ड फच्र्युन म्यानपावर कम्पनीमार्फत् गएका हुन् ।

दुहबी र आसपास क्षेत्रका दिनाल चौधरी, श्रीनारायण चौधरी, अबजाल मियाँ, मुस्ताक मियाँ, श्रवण साह, अजीत हलुवाई, अनिल साह, अर्जुन साह, हीरा साह, एमडी समसाद, मिश्रीलाल सरदार, रोशन सरदार सुनील साह, रोशन सरदारलगायत युवा अलपत्र परेका हुन् । उनीहरू त्यहाँ 'इन स्टाइल सोफा' नामको फर्निचर कम्पनीमा काम गर्न लगिएका थिए । कसैले घरजग्गा बन्धकी राखेर, कसैले ब्याजमा ऋण काढेर रकम बुझाएका थिए ।

कम्पनीका सञ्चालक अनिल श्रेष्ठले त्यहाँ आर्थिक मन्दीका कारण कम्पनी केही समय बन्द हुँदा समस्या परेको दाबी गरे । महिनामा २१ दिनसम्म उनीहरूले काम गर्न पाएको उल्लेख गर्दै उनले आफू तीनपटक त्यहाँ पुगेर आएको दाबी गरे । 'मैले गएर बुझदा कहिलेकाहिंँ कम्पनी बन्द भएर त्यसै बस्नुपरेको मात्र हो' उनले फोनमा कान्तिपुरसित भने, 'खानै नदिएको भन्ने कुरा होइन ।' र्फकन चाहनेलाई फिर्ता ल्याइदिने उल्लेख गर्दै उनले दुई साताअघि सुनसरीकै ५ जनालाई घर फर्काएको बताए ।

Published on: 24 March 2015 | Kantipur

Back to list

;