s

मलेसियामा ६० लाख रुपैयाँ बटुलियो

प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा मलेसियाबाट करिब ६० लाख रुपैयाँ संकलन भएको छ। नेपाली दूतावासका अनुसार मलेसियाको मे बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषको खाता ( ५१४०१२०५७६३१) मा बुधबारसम्म उक्त रकम जम्मा भएको हो। ‘बुधबारसम्ममा २ लाख रिंगिट जम्मा भएको छ। त्योमध्ये मलेसियाको कम्युनिटी ब्विलडर्स फाउन्डेसन नामक एक गैरसरकारी संस्थाले १ लाख रिंगिट सहयोग गरेको हो,’ दूतावास स्रोतले भन्यो, ‘अझै घोषणा गरिसकेका कतिपय डोनरहरूबाट रकम संकलन हुन बाँकी छ।’

स्रोतका अनुसार ग्लोबल चिल्ड्रेन वेलबिइङ फन्ड र भक्ति मलेसियाले गरी १ लाख ५० हजार अमेरिकी डलर कोषमा जम्मा गर्दै छन्। उक्त रकममध्ये ५० हजार डलर मलेसियाली प्रधानमन्त्री दातुक नजिवपत्नी दातिन रोस्माहले व्यक्तिगत रूपमा दिन लागेकी हुन्। उनले यसबारे केही दिनअघि घोषणा गरेकी थिइन्। 

मलेसियाका दूरसञ्चार कम्पनीहरूले समेत भूकम्पपीडित नेपालीका लागि आर्थिक सहयोग जुटाइरहेका छन्। मलेसियाको डीजी टेलिकम्युनिकेसनले युनिसेफ र ट्युन टकले नेपाली दूतावाससितको समन्वयमा एसएमएसबाटै आर्थिक सहयोग संकलन अभियान चलाइरहेका छन्। सहयोग गर्न चाहने टेलिकमका प्रयोगकर्ताले एसएमएसमार्फत सिधै राहत तथा मानवीय सहायता कोषमा रकम संकलन गर्न सक्नेछन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा हुने जनाइएको छ।

Published on: 17 May 2015 | Kantipur

Back to list

;