s

मलेसियामा धरपकड

मलेसियाले गत जनवरी २१ देखि दोस्रो पटक थालेको देशव्यापी धरपकडका कारण पछिल्लो समय मलेसियामा नेपालीका व्यापार व्यवसयामा प्रत्यक्ष प्रभाव परेको छ । गैरकानुनी आप्रवासी कामदारको जमघटका क्षेत्रमा केन्दि्रत धरपकडले त्यस क्षेत्रको व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हो । यसअघि गैरकानुनी कामदारविरुद्ध कारबाहीमा उत्रिएको मलेसिया अब भने गैरकानुनी रूपमा व्यापार व्यवसाय गर्नेविरुद्धसमेत धरपकडमा उत्रिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय नागरिकको नाममा लाइसेन्स लिएर गैरकानुनी रूपमा व्यापार गरिरहेका आप्रवासीमाथि मलेसियाले अब धरपकड केन्दि्रत गरेको छ । गैरकानुनी रूपमा रही व्यापार/व्यवसाय गर्ने तथा काम गर्ने आप्रवासीहरू धरपकडको निसानामा परेका छन् ।

'मलेसियालीहरूले व्यवसाय आफैं गर्नुपर्छ न कि विदेशीलाई लाइसेन्स लिजमा दिने हैन । हामीले विदेशीलाई यहाँ व्यवसाय गर्न प्रोत्साहन गर्नुहुन्न ।' मलेसियाली गृहमन्त्री दातोश्री अहमद जाहिद हमिदीको भनाइ उद्धृत गर्दै मलेसियाली सञ्चारमाध्यमले लेखेका छन्, 'स्थानीय नागरिकसँग लाइसेन्स भाडा लिएका विदेशीहरू, जोसँग व्यवसाय गर्ने भिसा/लाइसेन्स छैन, कृपया व्यावसायिक गतिविधि बन्द गर र देश छाड ।'

मलेसियाले नेपालीलगायत विदेशी कामदारको जमघटको प्रमुख थलो मानिने कोताराय बजार र आसपासका क्षेत्रमा शनिबार साँझ गरेको धरपकडमा २८ जना नेपालीसहित १ सय ९० आप्रवासी कामदार पक्राउ परेका छन् । यसअघि उक्त क्षेत्रमा पटकपटक भएको धरपकडमा  सयौं गैरकानुनी कामदार र केही रोजगारदातासमेत पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ३ रोजगारदाता पनि छन् । शनिबार साँझ उक्त धरपकडमा स्वयं गृहमन्त्रीसमेत समेत सहभागी भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पक्राउ पर्नेमा ८१ बर्मेली, २५ बंगलादेशी, १५ इन्डोनेसियाली, ४ भारतीय, ३ पाकिस्तानी, २ श्रीलंकाली, २ फिलिपिनो र एक जना भियतनामी रहेका उल्लेख गरिएको छ ।

कोतारायमा नेपालीका लगानीमा दुई दर्जनभन्दा बढी रेस्टुराँ, दर्जनको संख्यामा पसलहरू, ट्राभल एजेन्सी तथा रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरू रहेका छन् । बढीजसो नेपालीका व्यवसाय बढी भएको र नेपाली जमघट प्रमुख हुने हुँदा यस क्षेत्रलाई 'मिनी नेपाल' पनि भन्ने गरिन्छ । विदेशी कामदार लक्षित व्यापार व्यवसायका लागि यो क्षेत्र केन्द्र नै मानिन्छ ।

व्यवसाय राम्रो हुने प्रत्येक साताका सार्वजनिक बिदाका दिनमा समेत धरपकड भएकाले व्यवसायीहरू चिन्तित छन् । 'घरभाडा उत्तिकै बढेको छ । त्यहीँमाथि धरपकडले झनै असर गरेको छ ।' कोतारायस्थित नेपाली रेस्टुराँ व्यवसायी पासाङ लामाले भने, 'राम्रो व्यापार हुने सार्वजनिक बिदाका दिनमा समेत धरपकड हुन थालेपछि ग्राहकहरू ह्वात्तै घटेका छन् ।' उनका अनुसार केही महिना यस्तै भइरहने हो भने व्यवसाय धराशायी हुन्छ ।

धरपकडकै कारण कानुनी हैसियतमा रहेकाहरू समेत झमेलामा फसिने डरले कोताराय आउन सकिरहेका छैनन्, जसका कारण व्यापार चौपट हुन थालेको व्यवसायीहरू बताउँछन् । 'अब त कानुनी हैसियतमा रहेकाहरू पनि झमेलामा परिएला भन्ने डरले आउन छाडे । यस्तै भइरहे त व्यापार झनै चौपट हुन्छ,' लामाले भने ।

गत जनवरी २१ देखि गैरकानुनी कामदारविरुद्ध देशव्यापी धरपकड थालेको मलेसियाले हाल दोस्रो पटक यो अभियान चलाइरहेको छ । अभियानमा हालसम्म ६ हजारभन्दा बढी आप्रवासीलाई पक्राउ गरिसकिएको जनाइएको छ, तीमध्ये ४ सयभन्दा बढी नेपाली पक्राउ परिसकेका छन् । मलेसियाले गत वर्ष भएको धरपकडमा पनि हजारौं आप्रवासी कामदारलाई पक्राउ गरी सम्बन्धित मुलुक फिर्ता गरेको थियो । मलेसियाले पक्राउ परेकाहरूलाई घरफिर्ती केन्द्रहरूमा राखेको जनाइएको छ ।

धरपकडपछि पक्राउ परेका नेपालीलाई स्वदेश फर्काउन दूतावासले निःशुल्क यात्रा अनुमतिपत्र जारी गरिरहेको छ पक्राउ परेका गैरकानुनी हैसियतका नेपालीलाई स्वदेश फर्काउनुअघि यात्राअनुमति पत्रको आवश्यकता पर्छ । त्यस्तो पत्रका लागि फिर्ती केन्द्रका कर्मचारी नियन्त्रणमा रहेका नेपालीको जानकारी लिएर दूतावास आउन थालेका छन् । पक्राउ पर्नेले जरिवाना रकम तिर्नुपर्ने भनिएपछि कति तिर्नुपर्ने भन्नेबारे अझैसम्म केही जानकारी सार्वजनिक भएको छैन । तर जेल नपरेका गैरकानुनी नेपालीलाई हाल साताको १ सय जना घर फर्काइएको छ ।

दूतावासका अनुसार त्यसरी र्फकनले घर  फिर्ती टिकट आफैंले किन्नुपर्ने र अध्यागमनलाई ५ सय रिंगिट जरिवाना तिर्नुपर्ने छ । गैरकाुननी कामदार घर फर्काइनुअघि शारीरिक वा बायोमेटि्रक रेकर्ड लिई त्यस्ता आप्रवासीलाई कालोसूचीमा सूचीकृत गरी पुनः मलेसिया आउन नदिने यसअघि नै जनाइसकेको छ । मलेसियामा हाल करिब २३ लाख आप्रवासी कामदार वैधानिक  रूपमा कार्यरत छन्् । तीमध्ये करिब ५ लाख नेपाली रहेका अनुमान छ ।

Published on: 4 March 2014 | Kantipur

 

Back to list

;