s

मलेसियामा बिरामी दुई नेपाली कामदारलाई एनआरएनएको उपचार खर्च

रोजगारीका लागि मलेसिया गई विरामी भएका दुई जना नेपाली युवालाई एनआरएनए मलेसियाले जनही एक-एक हजार रिङ्गगिट सहयोग गरेको छ।

विरामी परेर अस्पतालमा थलिएका नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनीका बैजनाथ चौधरी र डडेलधुराका लोकबहादुर बिष्टलाई एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जनही एक-एक हजार रिङ्गगिट उपचार खर्चका लागि दिएका हुन् ।

भट्टराईले एनआरएनए मलेसियाको अध्यक्ष भएपछि कामदारहरुका लागि भन्दै ५० हजार रिङ्गगिटको कल्याणकारी कोष बनाएका थिए। सोही कोषबाट उनीहरुलाई पहिलो चरणमा सहयोग गरिएको हो ।

चौधरी विगत सात वर्ष देखि रोजगारीको निम्ति मलेसियामा कार्यरत रहेका थिए। आफू कामगर्ने कम्पनीमा उचित पारिश्रमिक नपाएपछि उनी भागेर अन्य कम्पनीमा काम गर्न गएका थिए।

उच्च रक्तचापको कारण बेहोस भइ उनी १ महिनादेखि क्वालालम्पुरमै अवस्थित युनिभर्सिटी मलाया नामक अस्पतालमा उपचारार्थ छन्।त्यसैगरी युनिभर्सिटी मलाया अस्पतालमै उपचाररत रहेका बिष्ट ६ वर्ष अघि मलेसिया पुगेका थिए।

घर आउन कम्पनीले नदिएपछि उनी अर्को कम्पनीमा भागेर गएका थिए। बिष्टलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो। उनको खुट्टा भाच्चिएको छ। दुबै जनालाई नेपाली दूतावास र एनआरएनले स्वदेश फिर्ताको लागि पहल गरिरहेको छ।

Published on: 6 March 2020 | Setopati

Link

Back to list

;