s

मलेसियामा ३२ जना नेपाली पक्राउ

अध्यागमन कानुन उल्लंघन गरेको आरोप

मलेसियामा आयोजना हुने भनिएको एक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।

एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन् । मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावैदेखि खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ । कार्यक्रम आयोजना गरिएको स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार अध्यागमनको नियन्त्रणमा रहेकामा २० जना पुरुष र १२ जना महिलाहरु छन् ।

ईदको अवसरमा आयोजना गरिएको उक्त सांगीतक कार्यक्रम शुरु हुनु अगावैदेखि सादा पोशाकमा आएका प्रहरीले सहभागीहरुमाथि धरपकडगरेका थिए । दुतावासले पक्राउ परेका नेपालीहरुको अवस्था बुझी रिहाइ अथवा सुरक्षित फिर्तीको पहल गर्ने तयारी भइरहेको छ । ‘हामीले उक्त घटनाबारे मलेसियाको अध्यागमन विभागसाग जानकारी मागेका थियौ, ३२ जना नेपालीहरु नियन्त्रणमा रहेको जानकारी पाएका छौं । अब सोमबार कार्यालयहरु सुचारु भएपछि आवश्यक पहल गर्छौं,’ मिनिस्टर काउन्सिलर कुमारराज खरेलले कान्तिपुरलाई भने ।

Published on: 9 June 2019 | Kantipur

Back to list

;