s

मलेसियाको राहदानीमा कसरी नेपाल छिरे श्रीलंकन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट मलेसियाको हराएको राहदानीमा एक श्रीलंकन नागरिक नेपाल प्रवेश गरेको पाइएको छ। मलेसियन नागरिक एम आरुल दास एन्थोनिसामीको ए ३६११६५१७ नम्बरको हराएको राहदानी लिएर श्रीलंकन नागरिक प्रशानथान कृस्नापिलाई साउन २९ गते राति नेपाल प्रवेश गरेका हुन्।

कृस्नापिलाईले उक्त मलेसियन राहदानी कहाँबाट र किन खरिद गरे भन्नेबारे खुलेको छैन। मलेसियन राहदानी इन्टरपोलको हराएको राहदानीमा सूचीकृत भएकाले त्यसमा आउजाउ गर्न पाइँदैन। अध्यागमनका कर्मचारीले लापरबाही गरे वा प्रविधिका कारणले ती श्रीलंकन अर्काको राहदानीमा काठमाडौं छिरेका हुन्, अहिले अनुसन्धानको विषय बनेको छ।

कृस्नापिलाईलाई पक्राउ गरी थप अनुसन्धानका लागि विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तारानाथ अधिकारीले बताए। अध्यागमन विभागको हिरासतमा रहेका उनीमाथि प्रारम्भिक अनुसन्धान थालिएको छ। विमानस्थल अध्यामगन कार्यालयबाट हराएको राहदानीमा आगमन अनुमति लिएर बाहिरिएको थाहा पाएपछि प्रहरी र अध्यागमनका अधिकारीले उनको खोजी गरेका थिए। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले कृष्णापिलाईले प्रयोग गरेको त्यही हराएको मलेसियन राहदानीमा नेपाल प्रवेशको अनुमति दिएका थिए।

राजधानीको एक होटलमा बसेका उनलाई प्रहरीको सहयोगमा शुक्रबार पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाइएको छ। कृस्नापिलाई गत साउन १६ गते पहिलो पटक नेपाल आएका थिए। सात दिन नेपाल बसेपछि उनी साउन २२ मा फर्किए। त्यस बेला कृस्नापिलाईले एन ३३९८०५९ नम्बरको श्रीलंकन रादहानीमा नेपाल ओहोरदोहोर गरेका थिए।

साउन २९ गते नेपाल आउँदा भने कृस्नापिलाईले मलेसियाको हराएको राहदानी प्रयोग गरेका थिए। १५ दिनअघि       श्रीलंकन राहदानीमा आएका कृस्णापिलाईले फेरि हराएको मलेसियन राहदानी प्रयोग गरी नेपाल आउनुले उनी शंकास्पद गतिविधिमा लागेका व्यक्ति त होइनन् भन्ने प्रश्न उब्जाएको छ। उनी किन नेपाल आएका हुन् भन्ने विषयसमेत पत्तो लाग्न सकेको छैन। अध्यागमन नाकामा बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर नहुनु र इन्टरपोलको अनलाइन डाटामा समेत अध्यागमनको पहुँच नहुँदा आतंकवादी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको सम्भावित आवागमनले मुलुकको सुरक्षा अवस्थामा थप चुनौती थपिँदै गएको छ।

इन्टरपोलले मोबाइल इन्टरपोल नेटवर्क डेटाबेस (माइन्ड) र फिक्स्ड इन्टरपोल नेटवर्क डेटाबेस (फाइन्ड) प्रयोग गर्दै आएको छ। इन्टरपोलका १ सय ९२ वटै सदस्य राष्ट्रले हराएका वा चोरी भएका (लस्ट एन्ड स्टोलन ट्राभल डकुमेन्ट) राहदानी माइन्ड डाटा बेसमा राख्दै आएका छन्। विमानस्थल अध्यामगनले माइन्ड डेटाबेस प्रयोग गरे पनि उक्त डेटाबेस अफलाइन भएकाले श्रीलंकन नागरिक अध्यागमन डेस्कमै पक्राउ पर्न सकेनन्। उनी अध्यागमनबाट निस्किसकेपछि मात्र अध्यागमनका कर्मचारले उक्त अफलाइन डेटाबेसमा यात्रुको विवरण ट्याली गराएका थिए। जति बेला उनले प्रयोग गरेको मलेसियाको राहदानी माइन्ड डेटाबेसले भेट्यो, त्यस बेला कृस्नापिलाई विमानस्थलबाट बाहिरिइसकेका थिए।

अध्यागमनसँग फाइन्ड डेटाबेस थियो भने ती श्रीलंकाली नागरिक अध्यागमन डेस्कमै पक्राउ पर्ने थिए। फाइन्ड अनलाइन डेटाबेस हो। माइन्डमा हराएका वा चोरी भएका राहदानी र हराएका सवारीसाधनको विवरण राखिएको हुन्छ भने फाइन्डमा आपराधिक व्यक्तिको व्यक्तिगत विवरण (फोटो, औंठा छाप, डीएनए) राखिएको हुन्छ। दुईमध्ये फाइन्ड अनलाइन डेटाबेस हो भने माइन्ड अफलाइन डेटाबेस डिभाइस हो।

माइन्ड डेटाबेस अध्यागमनको पहुँचमा भए पनि यात्रु गइसकेपछि मात्र ट्याली गर्ने गर्दछ। अफलाइन डेटाबेस डिभाइस माइन्डमा निश्चित समयमा आएका वा गएका यात्रुको विवरण म्याच गरिन्छ। माइन्ड डेटाबेसमा यात्रुको विवरण म्याच गरुन्जेल शंकास्पद व्यक्तिले अध्यागमन पार गरिसकेको हुने भएकाले यो फाइन्डको तुलनामा कम प्रभावकारी छ। विमानस्थल अध्यागमनको अफलाइन डेटाबेस माइन्डसँग मात्र पहुँच छ।

Published: 20 August 2018 | Annapurna Post

 

Back to list

;