s

मलेसिया जाने कामदार बढे

रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२-७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।आर्थिक वर्ष ०७३-७४ मा ९८ हजार चार सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर गएपछि मलेसिया तेस्रो गन्तव्यबाट दोस्रो बन्न पुगेको हो । मलेसिया जाने कामदारको संख्या बढे पनि आर्थिक वर्ष ०७३-७४ मा नेपालका लागि पहिलो गन्तव्य भने कतार हुन पुगेको छ ।
 
आर्थिक वर्ष ०७२-७३ मा कतार दोस्रो र साउदी अरेबिया पहिलो गन्तव्य थिए । त्यतिखेर मलेसिया तेस्रो गन्तव्य थियो । आर्थिक वर्ष ०७२-७३ को तुलनामा करिब चार हजार कम कामदार कतारी रोजगारदाताले लिए पनि कतार कुल कामदारमध्ये ३१ प्रतिशतको रोजाइमा परेर पहिलो गन्तव्य बन्न पुगेको हो । कतारमा आर्थिक वर्ष ०७२-७३ मा एक लाख २९ हजार ३८ कामदार गएकोमा आर्थिक वर्ष ०७३-७४ मा एक लाख २५ हजार आठ सय ९२ गएका छन् ।
 
पछिल्लो वर्ष साउदी अरेबियालाई करिब पाँच प्रतिशतले पछि पार्दै मलेसिया दोस्रो गन्तव्यमा उक्लिएको हो । आर्थिक वर्ष ०७२-७३ मा साउदी अरेबिया जानेको संख्या एक लाख ३८ हजार पाँच सय २९ थियो । आर्थिक वर्ष ०७३-७४ मा साउदी अरेबिया जानेको संख्या ७६ हजार आठ सय ८८ छ ।साउदी घट्नुकोकारण अघिल्लो वर्ष पहिलो गन्तव्यमा रहेको साउदी अरेबियामा आर्थिक वर्ष ०७३-७४ मा जाने संख्या घटेपछि त्यसको कारण खोज्न थालिएको छ ।
 
मलेसिया र कतारको आर्थिक अवस्था राम्रो नहुँदा नहुँदै पनि साउदी जानेको संख्या घटेपछि वैदेशिक रोजगार विभागका कर्मचारीले थालेको सरसर्ती अध्ययनले साउदीका रोजगारदाता कामदारमैत्री हुन नसकेको देखाएको छ । विभागका एक अधिकारीले पछिल्लो समयमा साउदीका रोजगादारताले मनपरी गरिरहेको भन्दै कामदारले गुनासो र उजुरी गर्ने क्रम बढेपछि नयाँ कामदारलाई सोही देश जान समस्या भइरहेको बताए ।
 
नेपाली कामदार मलेसियन रोजगारदाताबाट समेत उत्तिकै सताइने गरे पनि मलेसियाको खुल्ला समाज र हावापानीले साथ दिइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । पछिल्लो समयमा खाडी मुलुक र मलेसियाको रोजगारीलाई धेरैले मन नपराउने गरे पनि अन्य विकल्प नहुँदा समस्या भइरहेको व्यवसायी बताउँछन् । नेपालले अब खाडी मुलुक र मलेसियाको विकल्प खोज्नुपर्ने बेला आए पनि सरकारी निकायले नयाँ र राम्रा गन्तव्य खोज्ने कामलाई प्राथमिकतामा नराख्दा कामदारले राम्रो आर्थिक प्रगति गर्न नसकेको धेरैको भनाइ छ ।
 
हाल नेपालले विश्वका एक सय १० देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका छन् । विभागका अनुसार हालसम्म करिब ४४ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष ०७३-७४ मा नयाँ र पुरानो श्रम स्वीकृति लिएर ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएको विभागका निर्देशक मोहन अधिकारीले बताए । कतार, मलेसिया र साउदी अरेबियापछि धेरै कामदार जाने गन्तव्य संयुक्त अरब इमिरेट्स, कुबेत, बहराइन, ओमान, जोर्डन हुन् ।
 
Published on: 8 September 2017 | Nagarik

Back to list

;