s

मलेसिया जाने नेपालीलाई विभेद र दुर्व्यवहार एयरपोर्टबाटै सुरु हुन्छ

नारायण पन्थी

मलेसिया आउने नेपाली धेरै समस्यामा परिरहेका छन् भन्ने कुरा चर्चा भइरहन्छ । उनीहरुको समस्या मलेसिया आएर काम गर्न थालेपछि होइन मलेसियाको एयरपोर्टमा ओर्लिंदादेखि नै सुरु हुन्छ । 

एयरपोर्टमा एउटा कोठा हुन्छ । त्यो कोठामा ५ सय भन्दा धेरै नेपालीलाई कोचेर राखिएको हुन्छ । बिमान आउँदा सबै थालेका हुन्छन् । तर उनीहरुले सुखले बस्न पनि पाउँदैनन् । उनीहरुलाई कम्पनीको मान्छे कति बेला लिन आउला भन्ने चिन्ताले सताइरहेको हुन्छ।
 
कम्पनीको मान्छेलाई १२ घण्टादेखि १५ घण्टासम्म पर्खिनुपर्छ । त्यतिबेला निद्राले थारै झल्यो भनेपनि पुलिसले दुव्र्यवहार गर्दो रहेछ । म पहिला दुवई हुँदै कतार गएको थिएँ । त्यहाँको एयरपोर्टमा मैले त्यस्तो देखिनँ अनि भोगिनँ पनि ।
 
कम्पनीको मान्छे लिन नआउँदा कति साथीहरुले त एक महिनासम्म यस्तो व्यवहार सहेर बस्न बाध्य भएको पनि देखें । यो त भयो एयरपोर्टको कुरा । एयरपोर्टबाट कम्पनी पुगेपछि अर्को तनाव सुरु हुन्छ । सबै कम्पनीमा हुँदैन । तर मलेसियाका धेरै कम्पनीले कामदारलाई गर्ने व्यवहार राम्रो छैन । 
 
धेरै कम्पनीले बस्ने कोठाको भाडादेखि बिजुलीको पैसा दिँदैन । कामदारकै तलबबाट काट्छ अनि लेबि त झन काट्ने नै भयो । त्यसपछि कुरा आयो तलबको । नेपालमा भनेको जत्ति नै तलब दिने कम्पनी निक्कै थारै होलान । धेरै कम्पनीले नेपालमा गरिएको सम्झौता अनुसार तलब दिएका छैनन् । दिँदैनन पनि ।
 
अनि काम पनि नेपालमा भने जतिगर्न पाइँदैन् । यसमा नेपाल सरकारको पनि कमजोरी हो जस्तो लाग्छ । यदी सरकारले यस बारेमा मलेसियाको सरकारसँग स्पष्ट कुरा गर्ने हो भने यो समस्या कम हुने थियो होला ।
 
कहिले काहिँ काम बिग्रियो भने तलबबाट काटिदिन्छ । त्यतिले पनि भएन भने यति दिनका लागि भनेर निलम्बन पनि गरिदिन्छ । निलम्बनमा परेका बेला आफ्नै खर्चले खानु बस्नुपर्छ ।
 
त्यति दुःख गरेर काम गरिरहेका नेपालीहरु बाहिर निस्किँदा उत्तिकै असुरक्षित छन् । कहाँ कतिबेला कसले लुट्ने हो केही थाहा हुँदैन । यसमा आफैं सचेत अनि चलाख हुनुपर्छ । 
 
यही समस्या लाखौं नेपालीले भोगिरहेका छन् । तर हाम्रो सरकार अनि हाम्रा नेतालाई वास्तै छैन । अनि सञ्चार माध्यमले पनि हामी परदेशीका पीडा नेता र सरकारका कानमा पुर्याउन सकेका छैनन् । 
 
Published on: 3 February 2018 | Ujyaaloonline

Back to list

;