s

मलेसिया जान रोकिएका २७ हजार ५ सय युवा अध्यागमनको 'ब्ल्याक लिष्ट'मा ४० हजार मागपत्र थन्कियो

गुल्मी इष्मा गाउँपालिका १ का ३३ वर्षीय सुनिल खत्री असार १ गते वैदेशिक रोजगारीका लागि मलेसिया जाने पक्का भइसकेको थियो।  तर श्रम मन्त्रालयले मलेसिया जानका लागि भिसा लगाउने मलेसिया भिएलएन नेपाल, माइग्राम, बायोमेट्रिक लगायतका सबै संस्था जेठ २ गते खारेज गरेपछि उनी मलेसिया जाने बाटो तत्कालका लागि बन्द भयो।

मलेसिया जाने कामदार रोकिएपछि कुटनीतिक पहल होला र जान पाइने आशमा उनलाई म्यानपावरले काठमाडौं बोलायो।

१५ दिनसम्म काठमाडौं बसे, मलेसिया नखुलेपछि गाउँ फर्के । श्रम मन्त्री गोकर्ण विष्टको भनाइ थियो, मलेसिया जाने कामदारलाई आर्थिक भार बढी भयो, बढी रकम असुल्ने ती सबै संस्थाहरु अवैध हुन् ।

सोनी कम्पनीमा टिभी फिटिङ गर्न खत्री मलेसिया जान लागेका उनलाई कम्पनीले १४ सय रिंगिट तलब सुविधा दिने बताएको थियो। २ पटकसम्म काठमाडौं आउँदा र होटलमा बस्दा २५ हजार ९ सय रुपैयाँ सकिएको खत्रीले बताए।

खत्रीमात्रै होइन कपिलवस्तुका रुपकुमार सुकाला, नुवाकोटका संजय तामाङ लगायतका २७ हजार ५ सय युवा मलेसिया जानबाट रोकिएका छन्। 

कलिङ भिसा प्राप्त गरेका २५ हजार, अन्तिम स्वीकृति पाएका २५ सय गरी २७ हजार मलेसिया जानबाट रोकिएको नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले बताएको छ।

म्यानपावर व्यवसायीहरुका अनुसार मलेसियाबाट आएका ४० हजार मागपत्र पनि त्यत्तिकै थन्किएको छ।  कामदार भिसा लागेर नगएकाहरुलाई मलेसिया अध्यागमनले ५ वर्ष कालो सुचीमा राख्छ।

'कतिपय कामदारहरु कालोसुचीमा परिसकेका छन्, मलेसिया कामदार पठाउने एक म्यानपावर व्यवसायीले गुनासो पोख्दै भने,' अझै पनि पहल भएन भने १५ दिनभित्रमा साढे २७ हजार नेपाली युवा ५ वर्ष मलेसिया जान पाउदैनन् । उनीहरु कालोसुचीमा पर्छन् । '

'कामदार कालोसूचीमा पर्नेदेखि यसले कुटनीतिक तवरमा पारिरहेको असरबारे हामीले पटक पटक मन्त्री ज्युलाई भेटेर जानकारी गराइरहेकै छौं,' एक म्यानपावर व्यवसायीले भने, 'मन्त्री दुई चार हजार नेपाली मलेसिया जान रोकिँदैमा कुनै प्रलय आउँदैन भन्ने मनसायमा छन् त्यस्तै अभिव्यक्ति दिन्छन् । '

श्रम मन्त्रालयले समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको जनाएको छ। श्रम मन्त्री विष्टले पनि समस्या समाधानका लागि पहल भइरहेकै बताएका छन् । तर भदौ ३ गते ३ महिना पुग्छ कुनै नतिजा देखिएको छैन।

सरकारले विशेष परिस्थितिमा निर्णय गरेका कारण मलेसियन सरकारले पनि यस विषयमा ध्यान दिनुपर्ने श्रम मन्त्रालयले बताएको छ।

भिसा आएर जान नपाएका नेपाली युवाहरू ५ वर्षसम्म कालोसूचीमा राखे आफूहरुले यस विषयमा पनि सम्बन्धित देशका अधिकारीहरुसँग कुरा गर्ने श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

त्यस्तै मलेसिया बन्द हुँदा कामदारको ३२ करोड ४७ लाख रुपैयाँ गुमेको छ। भिसा लागेका २ हजार ५ सय जनाको ५ करोड ९२ लाख र कलिङ भिसा लागेका १५ हजार जना कामदारको २६ करोड ५५ लाख रुपैयाँ गुमेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

Published on: 15 August 2018 | Setopati

Back to list

;