s

मलेसिया घटनाको अपारदर्शिता

'यो हल्लैहल्लाको देश हो’ कवि भूपी शेरचनले कुनै कवि-कल्पनामा लेखेको यो हरफ कवितामा मात्रै होइन, नेपाली समाजका हरेक तहतप्कामा सुहाउँदो लाग्ने गरेको छ । गत आइतबार राति मलेसियाको जोहोरबारु जिल्लाको एउटा होस्टलमा भएको नेपाली कामदारमाथिको सांघातिक आक्रमणको घटनापछि सिंगो वैदेशिक रोजगारी क्षेत्र आतंकित हुने गरी आइरहेका हल्लाहरूलाई त्यति सहज रूपमा लिन सकिने अवस्था छैन । फेरि हल्लाकै रूप मानेर चुप लाग्ने अवस्था किन पनि छैन भने सामाजिक सञ्जालहरूमा आइरहेका मलेसिया घटनाबारेका स्रोत, सामग्री र दृश्यहरू त्यति सामान्य स्वरूपका पनि छैनन् । आठ वर्षअघिको इराक काण्डमा १२ नेपालीको नृशंस हत्या भएपछि वैदेशिक रोजगारीका नाममा व्याप्त मानव तस्करी र अन्तर्राष्ट्रिय सञ्जालको चियोचर्चामाथि बहस सुरु भएको हो । सुरक्षित, पारदर्शी र व्यवस्थित हुन नसकेको वैदेशिक रोजगारी यही कारणले मर्यादितसमेत बन्न नसकेको दृष्टान्त एकपछि अर्को गर्दै सार्वजनिक भइरहेकै अवस्था छ । पछिल्लोपटक मलेसियामा देखिएको घटना भने अलिक भिन्न प्रकृतिको छ । नेपालीसहितका विदेशी कामदार र स्थानीय समुदायबीच सुरु भएको विवादले हिंसाको रूप लिएको र त्यही क्रममा केही नेपाली गम्भीर घाइते बनेको समाचार क्वालालम्पुरस्थित नेपाली दूतावासले प्रचारप्रसार गर्दै आएको छ । तर घटना भएको पाँच दिन बितिसक्दा र घटनाबारे जानकारी बाहिर आइसक्दा पनि स्थिति साम्य हुन सकेको देखिन्न । घटनाबारे थप जानकारी लिन र अहिलेको स्थितिबारे अध्ययन गर्न क्वालालम्पुरस्थित नेपाली दूतावास कर्मचारीको एक टोली घटनास्थल पुगेको र छिट्टै यथार्थ विवरण बाहिर आउने भनिएको छ । अनौपचारिक आँकडामा झन्डै ५ लाख नेपाली कामदार रहेको भनिने मलेसिया फाटफुट घटनाबाहेक अहिलेसम्म सुरक्षित रोजगारी गन्तव्यका रूपमा रहिआएको छ । तर यसपटक देखिएको घटनासँगै द्विपक्षीय सम्बन्धमा जातीय, वर्गीय वा अन्य प्रकृतिको विद्वेष बढ्न गएमा सुरक्षित गन्तव्यको यो बुझाइ लामो समयसम्म टिकिरहन असम्भव छ । अर्कातिर उक्त घटनासँग सम्बन्धित रहेर कुनै स्वरूपमा कुनै अपि्रय खबर लुकेको भए त्यसलाई संयमित र पारदर्शी ढङ्गले जतिसक्दो चाँडो बाहिर नल्याएमा परराष्ट्र मन्त्रालय, दूतावास र सरकारी संयन्त्रका निम्ति थप प्रतिकूल स्थिति आइपर्न सक्छ । यसकारण पनि दूतावासको अध्ययन टोलीले घटनाको तथ्यगत विवरण जतिसक्दो छिटो बाहिर ल्याउन जरुरी छ ।

अहिले नेपाली समाजको मनोगत स्थिति एकदमै तरल र अस्थिर छ । राजनीतिदेखि समाजका हरेक अंग, प्रशासनतन्त्र र देश-विदेशसँगका सम्बन्धका आयामहरू पुनव्र्याख्याको मोडमा पुगेका छन् । यसबेला यो अस्थिरताको फाइदा उठाउन चाहने पक्षहरू पनि उत्तिकै सक्रिय रहन सक्छन् । अझ जनजीविकाको एकदमै धरातलीय यथार्थमा जोडिएर बसेको वैदेशिक रोजगारीका कारणबाट उब्जने परिणाम सहजै स्वीकार हुन सक्ने अवस्थामा छैन । म्यानपावर, तिनका औपचारिक एजेन्ट र अनौपचारिक दलालहरूको अपारदर्शी कार्यशैली हुँदै स्रोत मुलुकमै शोषित-पीडित बनेर रोजगार गन्तव्यमा पुगेका नेपाली कामदारहरू तोकिएबमोजिमको सेवा-सुरक्षाको प्रत्याभूति पाउनका लागि अझै भगवान् भरोसा’ मै छन् । मलेसियाको एउटा जिल्लाको कुनै होस्टलमा झडप र झगडा भएको समाचार आउनासाथ काठमाडौंका म्यानपावरहरूको होर्डिङबोर्ड झिक्ने र सुरक्षा सतर्कता बढाउनुपर्ने अवस्था भनेको पक्कै पनि सामान्य होइन । स्पष्ट नियम-कानुन र पारदर्शिताको जगमा कुनै पेसा/व्यवसाय गरिएको हुँदो हो त यस्तो अवस्था उब्जने थिएन । यसकारण मलेसिया घटनाको तथ्यगत विवरण र यथार्थ तत्काल बाहिर आउनु जति जरुरी छ, उति नै म्यानपावर र तिनका व्यवसायीले आफूमा आत्मशुद्धि पहिल्याउँदै आफैंलाई आचारसंहितामा बाँध्नु पनि त्यत्तिकै जरुरी छ । सम्भवतः केही दिनमा सेलाएर जान सक्ने मलेसियाको घटनाले दीर्घकालसम्म दिन चाहेको सन्देश यही हो ।

Published on: 29 March 2013 | Kantipur 

Back to list

;