s

मलेसिया गएका विजय तीन वर्षदेखि सम्पर्कविहीन

बाराको देवताल गाउँपालिका-४ पिप्राढीका विजय पासवान मलेसिया गएको चार वर्ष भयो । मलेसियामा आइस फ्याक्ट्रीमा काम गर्न गएका विजयले सुरुका वर्ष पैसा पनि पठाए । तर, पछिल्लो समय परिवारसँग सपर्कविहीन छन् । न घर फर्किएका छन् न फोन नै गर्छन् ।

श्रीमती सुनिता देवी माइती करैयामाई गाउँपालिकाको करैयामा बस्छिन् । उनीहरुको दुई छोरा र एक छोरी छन् । जेठी छोरी ५, ठूलो छोरा ३ र सानो छोरा कषा १ कक्षामा पढ्दैछन् । परिवारमा आर्थिक अभाव भएकै कारण छोराछोरीलाई कपी कलम किन्न समेत माइतीले सहयोग गर्नुपर्ने अवस्था छ । सुनिताका अनुसार १ लाख ५० हजार तिरेर विजय रोजगारीका लागि विदेश गएका थिए, त्यो ऋण समेत तिर्न सकिएको छैन । ‘पैसाको कुरा त वेग्लै हो, मान्छे नै सम्पर्कमा आएनन्’ उनले भनिन्, ‘माइतीमा भनेर ८ कठ्ठा जमिन धितो राखेर ऋण लिएको । त्यो पनि तिर्न सकेको छैन ।’

उनका अनुसार विजयले पहिलो वर्ष २ पटक गरी ५० हजार पठाएको थिए । तर, त्यसपछि खोजखबर छैन ।उनले आफ्नो श्रीमानको खोजी गरिदिन वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका सरकारी, गैरसरकारी संघ सस्था र मलेशियामा रोजगारी गरिरहेका नेपालीहरुलाई आग्रह गरेकी छन् ।विजयलाई विदेश पठाउन सहयोगी भूमिका निभाएका बाराको देवताल गाउँपालिका वडा नं ४ पश्चिमटोलका एजेन्ट सफि मियाँले आफूसँग विजयको कुनै कागजात नभएको प्रतिक्रिया दिए । ‘पहिला त ठीकै थियो, यसपाली ईदमा घर आउँदा मात्रै सुनिताले श्रीमान नभएको जानकारी दिइन्’ उनले भने, ‘विजय कम्पनी छोडेर भागेको रहेछ । साथीहरुसँग पनि सम्पर्कमा रहेनछन् ।’

आफूले विजयलाई विदेश जाने क्रममा सम्पदा ओभरसीज पुरानो वानेश्वरको एजेन्टसँग भेट मात्रै गराइदिएको बउनले बताए ।बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने पासवान हराएको कुनै जानकारी नआएको बताए । यसबारे लिखित निवदेन आए विभागीय मन्त्रालयमार्फत खोजबिन सुरु गर्ने उनले बताए । ‘हामीले सिधै कूटनीतिक नियोगमा पत्राचार मिल्दैन । विभागीय मन्त्रालयमार्फत कुरा आगडि बढाउने हो । कसरी गएको ? कुन म्यान पावरमार्फत गएको हो ? श्रममा गएको हो वा भिजिट भिषामा गएर काम गरेर बसेको हो ?’ उनले भने, ‘संस्थागत श्रमका लागि म्यान पावर मार्फत गएको छ भने श्रम स्वीकृति लिएको रेकर्डमा देखिन्छ ।’

Published on: 7 March 2019 । Onlinekhabar

Back to list

;