s

मलेसिया, कम्बोडिया र दुबई हिँडेका शंकास्पद् १० जनालाई अध्यागमनले रोक्यो

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पर्यटक भिसा (भिजिट भिसा)मा मलेसिया, कम्बोडिया र दुबई जान लागेका १० जनालाई फिर्ता (अफलोड) गरेको छ। त्रिअबी अध्यागमन कार्यालयले शनिबार बिहान उनीहरुलाई प्रस्थान अनुमति (डिपार्चर) नदिएको हो।

उनीहरु कसैले पनि अध्यागमन अधिकृतसमक्ष भिजिट भिसामा जानुको औचित्य पुष्टि गर्न सकेनन्। गृह मन्त्रालयलेसमेत भिजिट भिसामा रोक लगाएको छ। भिजिट भिसामा जान गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि त्यस्ता यात्रुहरुलाई अध्यागमन कार्यालयले फिर्ता गरेको स्रोतले अन्नपूर्णलाई बतायो।

मलेसिया, खाडीमुलुकलगायत अन्य केही मुलुकमा मानव तस्करहरुले भिजिट भिसामा नेपालीहरुलाई पुर्‍याएर अलपत्र पारेको भन्दै गृह मन्त्रालयले कडाइ गरेको छ। अध्यागमन कार्यालयले मलेसिया हिँडेका ललितपुरका निध्यना विष्ट, काठमाडौंकी जुनु गिरी, निर्मला गिरी, जुली गिरी र अर्की एक गिरी थरकी युवतीलाई प्रस्थान अनुमति नदिएको हो।

उनीहरुले भिजिट भिसामा मलेसिया जानुपर्ने कारण र आवश्यक कागजपत्र पेस गर्न नसकेको अध्यागमन स्रोतले बताएको छ। विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव तस्करको जालो तोडन भिजिट भिसाको औचित्य पेस गर्न नसकेका यात्रुहरुलाई रोक लगाउँदै आएको छ।

त्यस्तै अध्यागमनले भिजिट भिसामा कम्बोडिया हिँडेका गुल्मीका नारायण ढकाल, दैलेखका गणेशबहादुर खडका, लम्जुङका पूर्णबहादुर गुरुङ र तनहुँका किरण दुरालाईसमेत शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति दिन अस्विकार गरेको छ। 

अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनीहरु त्यहीँबाट फर्किएका थिए। त्रिअबी अध्यागमन कार्यालयले कम्बोडिया हिँडेका खडका, गुरुङ र दुरालाई यसअघि पनि आवश्यक कागजात दिन नसकेपछि प्रस्थान अनुमित दिएको थिएन। 

उनीहरु पुरानै कागजात लिएर दोहोर्‍याएर विमानस्थल पुगेका थिए। अध्यागमनले भिजिट भिसामा दुबई जान लागेका धादिङका मदन पौडेललाई समेत फिर्ता गरेको छ। कम्बोडिया र दुबई जान लागेका यात्रुहरुले अध्यागमन अधिकृतसमक्ष आवश्यक कागजात दिन नसकेपछि उनीहरुलाई फिर्ता गरिएको हो।

मानव तस्करको गिरोहले उनीहरुलाई भिजिट भिसामा मलेसिया, कम्बोडिया र दुबई पुर्‍याउन लागेको आशंकामा अध्यागमन कार्यालयले उनीहरुलाई जान नदिएको हो।

त्यस्तै त्रिअबी अध्यागमन कार्यालयले शुक्रबार अष्ट्रेलिया जान लागेका म्याग्दीका प्रविन थापा र रुकुमकी भावना केसीलाई समेत आवश्यक कागजपत्र नपुगेको भन्दै यात्रा अनुमति दिएको थिएन।

अध्यागमनले शुक्रबार नै भिजिट भिसामा केन्या हिँडेका काठमाडौंकी अमी महर्जन, एनओसी नलिई युके हिँडेका भारतीय नागरिक मन्तोष गुप्ता र कतारको दोहा ट्रान्जिट हुँदै पाकिस्तान जान लागेकी रुपन्देहीकी शान्ति कुमारी थारुलाई समेत शुक्रबार विमानस्थलबाट फिर्ता गरेको छ। उनीहरु सबैले यात्रा उद्देश्य पुष्टि गर्न नसकेपछि अध्यागमनले फिर्ता गरेको हो।

Published on: 31 January 2022 | Annapurna Post

Link

Back to list

;