s

मलेसियाबाट ४७० जना माग • फ्रि–भिसा र टिकट

मलेसियाली रोजगारदाता कम्पनीहरूले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि–भिसा फ्रि–टिकट’ मा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् । मलेसियाका रोजगारदाता कम्पनीहरूले नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेस गर्न थालेका हुन् । यहाँस्थित नेपाली दूतावासका अनुसार विभिन्न १७ कम्पनीले फ्रि–भिसा फ्रि–टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दूतावासमा पेस गरेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ । 
 
दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्रउपर छानबिन गरी ती कम्पनीहरूको निरीक्षणपछि मागपत्र स्वीकृत गरी पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते ‘फ्रि–भिसा फ्रि–टिकट’मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाली कामदारको माग घट्न सक्ने चिन्ता र चासो भइरहँदा मलेसियाली रोजगारदाताले आफूहरूलाई नेपाली कामदारको अभाव भएको भन्दै कामदार ल्याउन धमाधम नेपाली दूतावासमार्फत प्रक्रिया थालेका हुन् ।
 
‘पछिल्लो १ सातामा विभिन्न १७ वटा कम्पनीबाट ती संख्यामा मागपत्र प्रमाणीकरणका लागि प्राप्त भएको छ ।’ दूतावासका एकजना अधिकारीले कान्तिपुरसित भने, ‘अब हामी ती कम्पनीको निरीक्षण गरी मागपत्र प्रमाणीकरण गर्नतर्फ लाग्छौं । अन्य कम्पनीहरूबाट पनि प्रक्रियाबारे बुझ्न आउने क्रम छ ।’ दूतावासका अनुसार हाल दैनिकजसो ‘फ्रि–भिसा र फ्रि–टिकट’मा कामदार ल्याउने प्रक्रियाबारे विस्तृतमा बुझ्न रोजगारदाताहरू आउने गरेका छन् । स्रोतका अनुसार हाल आएका मागपत्रमध्ये सेवाअन्तर्गत सहायक क्षेत्र ‘क्लिनिङ’ मा एकै कम्पनीबाट सयजनाको माग आएको छ भने केही कम्पनीबाट ५० जनाका दरले सुरक्षागार्ड माग आएको छ ।
 
Published on: 7 August 2015 | Kantipur
 

Back to list

;