s

मलेसिया आउने नेपाली बढे

मलेसिया मुद्रा रिंगिटमा सुधार भएपछि नेपाली श्रमिक लाभान्वित हुन थालेका छन्

मलेसियाली मुद्रा ‘रिंगिट’ मा क्रमिक सुधार हुन थालेपछि नेपाली श्रमिकको यहाँ आउने क्रम बढेको छ । पछिल्ला ३ महिनायता रिंगिटको दरभाउमा क्रमिक सुधारले मलेसियामा कार्यरत नेपाली लाभान्वित भएका छन् । 

स्वदेशमा बढदो महँगी र मलेसियामा डेढ वर्षअघिदेखि आएको गिरावटले निराश भएका नेपाली अहिले खुसी देखिन्छन् । गत वर्ष मलेसियाबाट नेपाल रकम पठाउँदा बैंक एवं रेमिटयान्स कम्पनीले प्रतिरिंगिट २३ रुपैयाँ ५० पैसा दिन्थे । अहिले यो दर २६ रुपैयाँ ५० पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रतिरिंगिट बिक्रीदर २६ रुपैयाँ ५१ पैसा तोकेको थियो ।
 
मलेसियामा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । झन्डै एक वर्ष रिंगिटको सटही दरभाउमा आएको गिरावटका कारण यसअघि कामदारहरू मर्कामा परेका थिए । अमेरिकी राष्ट्रपतीय निर्वाचनसँगै डलर मजबुद हुँदै आएपछि रिंगिटको भाउ कमजोर हुन पुगेको थियो । त्यसताका विश्व बजारमा पेट्रोलियम पदार्थ एवं तेलको मूल्यमा समेत गिरावट आएको थियो । लगत्तै रिंगिटमा गिरावट आएको थियो । ‘दुई वर्षअघि एक रिंगिटको २८ रुपैयाँ हाराहारीको दरभाउले पैसा पठाएको थिएँ,’ कोतारायस्थित रेमिटयान्स कम्पनी परिसरमा भेटिएका सोतीपसल लमजुङका सन्दीप अधिकारीले भने, ‘अझै बढेमा राम्रो हुन्थ्यो तर धेरै नबढे पनि अहिलेको दर नघटे हुन्थ्यो ।’
 
मलेसियाली मुद्रामा थप सुधार आउन सक्ने आकलन गरिएको छ । पछिल्ला महिनामा रिंगिटमा आएको सुधारले लाखौं आप्रवासी कामदार लाभान्वित भएको सरोकारवाला बताउँछन् । यसअघि रिंगिटमा गिरावटका कारण कामका लागि मलेसिया आउने नेपालीको संख्या घट्ने आकलन गरिएको थियो । तर, खाडी मुलुकमा खासगरी कतारमाथिको नाकाबन्दी र मलेसियामा रिंगिटमा आएको क्रमिक सुधारले यता आउने नेपालीको संख्या बढेको छ ।
 
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा ३१ हजार २ सय ७७ जनाले मलेसिया आउन श्रम स्वीकृति लिएका थिए । यो अवधिमा कुल ८४ हजार ७ सय ७६ जनाले श्रम स्वीकृति लिएकामध्ये करिब ३६ प्रतिशत मलेसिया आउन लागेका हुन् ।
 
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियामा प्रत्येक नेपाली कामदारले न्यूनतम मासिक १ हजार रिंगिट कमाइ गर्छन् । होस्टलका अतिरिक्त शुल्क, खानालगायत
 
खर्चपछि एकजना साधारण कामदारले मासिक ५ सयदेखि ८ सय रिंगिट बचत गर्छन् । ओभरटाइम गर्नेले मासिक थप ३ हजार रिंगिटसम्म कमाइ गर्न सक्छन् । खासगरी सुरक्षा गार्ड, उत्पादन र निर्माण क्षेत्रमा काम गर्नेले बढीजसो ओभरटाइम पाउँछन् । यी क्षेत्रमा कार्यरत नेपालीले मासिक एक हजारदेखि ३ हजार रिंगिटसम्म कमाउँछन् ।
 
नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार गत वर्ष दक्षिणपूर्वी एसियाली मुलुकबाट मात्रै वार्षिक करिब डेढ खर्ब रुपैयाँ रेमिटयान्स भित्रिन्छ । उक्त रकमको ठूलो हिस्सा मलेसियाबाटै जाने गरेको छ । यद्यपि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिने रेमिटयान्स करिब ०.८९ प्रतिशतले घटेको सरकारी तथ्यांक छ । मलेसियाले यसै वर्षदेखि लागू हुने गरी कामदारको लेभी रकम रोजगारदाता कम्पनीसँग लिने नयाँ प्रावधानको घोषणा गरेको छ ।
 
यो प्रावधान पूर्ण रूपमा लागू हुन सके मलेसियाबाट नेपाल भित्रने रेमिटयान्स पनि बढ्ने विश्वास गरिएको छ तर कतिपय रोजगारदाताले इमानदारीसाथ नयाँ प्रावधानको अवलम्बन गर्नेमा आशंका छ ।
 
Published on: 2 March 2018 | Kantipur

Back to list

;