s

मलेसियामा न्यूनतम पारिश्रमिक २४ हजार

रामचन्द्र गिरी

प्रतिघन्टा ४.३३ रिंगेट र दैनिक ८ घन्टा काम गर्नुपर्ने

मलेसियाले यहाँ कार्यरत कामदारका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सरकारले श्रम कानुनको इतिहासमै पहिलोपटक न्यूनतम पारिश्रमिक घोषणा गरेको हो । 
 
घोषणा अनुसार कामदारका लागि मासिक न्यूनतम पारिश्रमिक ९ सय रिंगेट -३ सय अमेरिकी डलर) तोकिएको छ । मलेसियाले उसका दुई राज्य -साबाह र सारावक) का लागि ८ सय रिंगेट न्यूनतम पारिश्रमिक तोकेको छ । त्यहाँ भने नेपाली कामदार छैनन्् ।
अब कामदारले प्रतिघन्टा ४.३३ रिंगेट र दैनिक ८ घन्टाका दरले  उक्त पारिश्रमिक पाउने छन्् । मलेसियाली सरकारको यो निर्णयको स्थानीय विभिन्न मजदुर युनियन एवं अधिकारकर्मीहरूले स्वागत गरेका छन्् ।
 
सोमबार साँझ पुत्राजयास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको एक विशेष कार्यक्रममा प्रधानमन्त्री दातुक श्री नाजिब राजाकले यस्तो घोषणा गरेका हुन्् । घोषित नयाँ नीतिबाट निजी क्षेत्रमा कार्यरत करिब ३२ लाख कामदार लाभान्वित हुने बताइएको छ । क्लिनिक, गार्डेन र घरेलु सेवामा काम गर्नेका लागि भने यो नीति लागू नहुने बताइएको छ ।
 
यसअघि यहाँका विभिन्न श्रमिक सम्बद्ध संघसंस्था एवं ट्रेड युनियन र अधिकारकर्मीहरूले सरकारलाई न्यूनतम पारिश्रमिक घोषणा गर्न दबाब दिँदै आएका थिए । न्यूनतम पारिश्रमिक सम्बन्धी नयाँ नीति निर्माणका लागि गत जुलाईमै छलफलका लागि संसद्मा पेस गरिएको थियो । त्यसका लागि सरकारले कामदार सम्बद्ध विभिन्न संघसंगठन, मजदुर अधिकारकर्मी एवं मन्त्रालयका अधिकारी सहितको एउटा समिति बनाएको थियो । 
 
यस नीतिबाट स्वदेशी र विदेशी कामदार दुवै लाभान्वित हुने छन्् । मलेसियाली सरकारले यो नीति घोषणा भएको ६ महिनाभित्र लागू गर्न रोजगारदाताहरूलाई समय दिएको छ । पाँच जनाभन्दा कम कामदार रहेका रोजगारदातालाई भने सरकारले १ वर्षभित्रमा लागू गर्न भनेको छ । 
 
नेपालीका लागि पहिलो रोजगार गन्तव्य बन्दै आएको मलेसियामा यो नीति लागू भएपछि कामदारका लागि ठूलै राहत पुग्ने विश्वास गरिएको छ । श्रम मन्त्रालयले मलेसिया आउने नेपाली कामदारका लागि मासिक न्यूनतम तलब ५ सय ४६ रिंगेट तोकेको छ । 
'न्यूनतम पारिश्रमिक कम र ओभरटाइम पनि नमिल्ने भएकाले मासिक १० हजार रुपैयाँ कमाउन गाह्रो हुन्थ्यो,' एक रोजगार व्यवसायीले भने, 'अब नेपालीका लागि पनि राम्रो भयो ।'
 
Published on: 1 May 2012 | Kantipur 

Back to list

;