s

मलायामा नेपाली

रामचन्द्र गिरी, फूलमान वल

पसलैपिच्छे टीभी झुन्डयाइएको छ । तिनमा कतै नेपाली गीत, कतै हिन्दी त कतै बंगाली अनि कतै भोजपुरी घन्किरहेका छन् । सडक किनारमा असनको गल्लीझैं हिँडडुल गर्नेहरूको थामिनसक्नुको भीड । तर यो हो- मलाया -मलेसिया) को राजधानी क्वालम्पुरस्थित कोतराय, जहाँ हरेक साता काठमाडौंकै भित्री गल्लीमा लागिरहेको जात्रा या उत्सवको जस्तै माहौल खडा हुन्छ । 'हेलो, म त आइसकें,' भीडमा प्रायः यस्तै सुनिन्छ, 'तँ आउँदैनस ?' हातमा नेपाली पत्रिका लिएका कोही मोबाइलमै साथीलाई फर्मारहेका हुन्छन्- 'गुन्द्रुक र खैनी लिएर आऊ त ।' उताबाट जवाफ आउँछ, 'पाएसम्म ल्याउँछु । भर्खरै दाल-भात खाएँ, एकछिनमा बस चढ्छु ।' आइतबारे बिदाको दिन कोतराय बजारमा यसरी नेपाली जीवनशैलीसँग साक्षात्कार हुन्छ । कोही टिलिक्क टल्किएको चरेसको थालमा गुन्दु्रक र भात खाइरहेका हुन्छन्, नेपाली रेस्टुरेन्टहरूमा । स्वागत मिल्छ नेपालबाटै भिकाइएको करुवाको चिसो पानीबाट । यस्तै माहौलबीच भेटिएका गोर्खाका मुक्तबहादुर गुरुङ साथीसँग मोबाइलमै गुन्द्रुक र खैनी मागिरहेका थिए । छुट्टीको दिन परिवारमै बिताउने या कतै घुमघाममा जाने अवसरबाट वञ्चित यो प्रवासमा धेरै नेपाली यसरी नै नेपाली परिकारको स्वादसँगै साथीभाइसित गफिएर नेपाली सरसामान सपिङ गर्छन् । 

सजिलो के भने यहाँ असनको गल्लीमा पाउनेजस्तै अनेकथरी नेपाली सरसामान सजिलै पाइन्छन् । खैनी, पान, गुन्द्रुक, नेपाली फिल्म या म्युजिक भिडियोका कपी, चर्चित साहित्यिक कृतिहरू अनि ब्लाङ्केट लगायत लत्ताकपडा । भोटाहिटीकैझैं सडकपेटीमा पत्रिका बेच्नेहरूको दृश्य अनि तरकारी पसलले धेरैलाई नेपालकै छु कि भन्ने भ्रम पनि दिलाउँछ । नोस्टाल्जिया नै सही, यहाँ आइपुगेपछि धेरैजसो नेपालीले आफ्नो मुलुकको प्यास मेटिएको अनुभूति गर्छन् । जस्तो कि कोतरायको सडक किनारमा उभिएर मुक्तबहादुरले सुनाए, 'यो एउटा अनुभूति न हो । कम्तीमा साथीभाइमाझ गाउँघरको खबर र नयाँ कुरा अपडेट हुँदै मन बिसाउन त पाइन्छ ।' मन बिसाउनेबाहेक यहाँ अर्को हुन्छ- सपिङ, नेपाली हाटबजारको झल्को मिल्ने गरी । क्वालालम्पुरबाहिर जोहोर, पेनाङ, मुआर, इपो, बातुपहातजस्ता सहरमा पनि नेपालीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन्, व्यापारका लागि कोतरायबाटै सामान लैजान्छन् उनीहरू, कोतारायमा चाहिँ नेपालबाट आयत हुन्छ । 'कोतराय भनेको यहाँका नेपालीका लागि हाटबजारजस्तै हो,' जोहोरस्थित मुआरमा कञ्चनजंघा रेस्टुरेन्ट तथा कपडा पसल सञ्चालन गरिरहेकी चमेली चौहानले भनिन्, 'नेपाली सामग्री अन्त पाइन्नन् ।' जात्रामा खानपिन र रामरमाइलो नहुने कुरै भएन । साताभर काममा थलिएको ज्यानलाई तंगि्रन दिनै पर्‍यो । नेपालीहरूले सञ्चालन गर्ने रेस्टुरेन्टमा खानपिनका लागि भीड नै लाग्छ । 'आफ्नो खानेकुराको स्वाद भिन्नै हुँदोरहेछ,' जात्रामै भेटिएका रोल्पाका मनबहादुर रोकाले हाँसो फुकाए, 'त्यही स्वादकै लागि पनि कोतराय आउँछु ।' रेस्टुरेन्टमा नेपाली स्वादका अनेक खानेकुरा पाइन्छ । फापरको ढिंडोदेखि ऐलासम्म । यहाँ आउनेमध्ये कोहीको चाहिँ घरमा पैसा पठाउने र आफन्त भेटेर दुःखसुख साट्ने उद्देश्य पनि हुन्छ । 'धेरैजसो साथीभाइ भेट्न र खानपिनकै लागि आउँछन्,' पूरानै चल्तीको रेस्टुरेन्ट हिमालयका सञ्चालक टेकबहादुर रानाले सुनाए, 'कोतारायलाई मलेसियाको 'मिनी नेपाल' भन्दा पनि हुन्छ ।' उतिबेलाको मलायालाई नेपाली पूर्खाले लडेर 'मलेसिया' बनाउँदाको गुन बेग्लै छ । त्यही मुुलुकमा अहिले झन्डै ५ लाख नेपाली श्रम गरिरहेका छन् । यिनैलाई लक्ष्य गरी नेपाली भाषामै ४ साप्ताहिक र एक पाक्षिक पत्रिका प्रकाशित हुँदै आएका छन् । हप्ताको एकपटक घरदेशका खबर तिनै पत्रिकाबाट थाहा पाउँछन् । 'नेपालीका लागि डेटिङ स्पट' जस्तै बनेको कोतारायमा चारैतिरबाट सवारी सुविधा छ । मलेसियाभरि १ सय ५० जति नेपाली रेस्टुरेन्टले नेपाली मौलिक स्वादको व्यापार गरिरहेको छ, कोताराया मात्रै झन्डै ३ दर्जन रेस्टुरेन्ट एकै ठाउँमा भेटिन्छन् । सिंगापुरको ५ वर्षे श्रमिक जिन्दगीपछि मलेसियामा आफैं मालिक बनेका टेकबहादुरको अनुभवमा रेस्टुरेन्ट धेरै भए पनि सबैका आ-आफ्ना ग्राहक भएकाले अस्वस्थ प्रतिस्पर्धा भने छैन । मलेसियाको सबैभन्दा जेठो रेस्टुरेन्ट 'नेपाल हाउस' सँगै द खुकुरी, द गोर्खाज, सगरमाथा, गोर्खा, मेचीकाली, लालीगुराँस, काठमाण्डू, भान्साघर लगायत रेस्टुरेन्टले समुद्रपारि नेपाली खानाको पहिचान फैलाइरहेका छन् । 

विदेशी पाहुनासमेत नेपाली खानाका परिकारसित रमाइरहेका हुन्छन् । अधिकांशले चम्चाले होइन, हातैले कपाकप खान्छन् । 'विदेशी पनि नेपाली खाना खोज्दै आइपुग्छन्,' ग्राहक आउनेबित्तिकै करुवा पानीले स्वागत गरिने द खुकुरी रेस्टुरेन्टका सञ्चालक पासाङ पाखि्रनले भने । आइतबारे जात्राका दिन खाना पुर्‍याउनै हम्मेहम्मे हुन्छ । 'महिनाको पहिलो आइतबार बढी ग्राहक आउँछन्,' टेकबहादुरले भने । खेलाडी, कलाकार, पत्रकारदेखि विभिन्न कामले मलेसिया आउने नेपाली ठोक्किने थलो बनेको छ कोतराय । दर्जनजति रेमिट्यान्स कम्पनी र उत्तिकै संख्यामा नेपालीका लगानीमा विभिन्न व्यवसाय सञ्चालित छन् यहाँ ।  'दसैं-तिहार, ल्होछार लगायत चाडबाडका बेला हुने सांस्कृतिक कार्यक्रमहरूले विदेशमा भएको अनुभूतिलाई नै बिर्साइदिन्छ,' पासाङले थपे, 'मुलुककै कुनै कुनामा भए जस्तो ।'

Published on: 24 March 2013 | Kantipur

Back to list

;