s

मलेसियामा कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते

होम कार्की

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’ घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियाे ।‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।

प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ ।’
 
Published on: 25 June 2018 | Kantipur

Back to list

;