s

मलेसियामा डेंगी, सात महिनामा १ सय ८७ नेपालीको मृत्यु

मलेसियामा डेंगीको प्रकोप बढेपछि नेपाली दूतावासका कर्मचारी र नेपाली कामदार डेंगी ज्वरोबाट प्रभावित भएका छन्। दूतावासमा कार्यरत सातजना कुटनीतिक कर्मचारीमध्ये राजदूत र उपनियोग प्रमुख (डिसिएम) सहित चारजना डेंगी ज्वरोका कारण थलिएका छन्। कूटनीतिक कर्मचारी ज्वरोले थलिँदा दूतावासको काममा समेत असर परेको छ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार दिनहुँ सयौं नेपाली समस्या लिएर आउने गरेका छन्। 'काम गर्ने जम्मा चारजना कूटनीतिक कर्मचारी छौं,' दूतावासका एक कर्मचारीले भनेे, 'डेंगीका कारण अहिले यहाँको स्थिति डरलाग्दो छ।' दूतावासमा कूटनीतिक कर्मचारीबाहेक चारजना लोकल स्टाफ छन्। 

डेंगी ज्वरोले थलिएपछि स्थानीय अस्पताल भर्ना भएका मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्नेत डिस्चार्ज भइसकेका छन्। तर, उनी काम गर्न सक्ने अवस्थामा नरहेकाले कार्यालय गएका छैनन्। डिसिएम हेमलाल भट्टराई, द्वितीय सचिव चक्र सुवेदी र अर्का द्वितीय सचिव अरुण महत पनि डेंगी ज्वरोले थलिएका छन्। 

यस वर्ष पानी कम परेपछि मलेसियामा डेंगीको प्रकोप ह्वात्तै बढेको हो। डेंगीका कारण त्यहाँ कार्यरत नेपाली पनि प्रभावित भएको दूतावासस्रोतले जनायो। स्रोतका अनुसार सन् २०१४ मा जुलाईसम्म मलेसियामा १ सय ८७ नेपाली कामदारको मृत्यु भएको छ। 'प्रायः धेरै नेपालीको मृत्यु डेंगीको कारण भएको छ। भर्खर मलेसिया आएकामा डेंगी देखिएको छ। बेलैमा अस्पताल नपुग्दा, वरपरको सरसफाइमा ध्यान नदिँदा डेंगीका कारण नेपालीको मृत्यु हुने गरेको छ,' स्रोतले भन्यो। 

डेंगीका कारण मृत्यु भएका नेपालीका परिवारले राहत रकम पाउन सकेका छैनन्। रोगका कारण (बिरामी भएर) हुने मृत्युलाई 'प्राकृतिक मृत्यु' को सूचीमा राख्ने हुँदा उनीहरूको परिवारलाई राहत दिइँदैन। 'डेंगी भाइरसले उच्च ज्वरो आए पनि अज्ञानताका कारण अस्पताल उपचार गर्न नजाँदा धेरैको मृत्यु भएको हो। रोजगारदाता कम्पनीले पनि कामदार बिरामी हुँदा उचित ध्यान नदिएको पाइएको छ,' स्रोतले भन्यो। 

स्रोतअनुसार डेंगीको प्रकोप बढेपछि र रोजगारदाता कम्पनीले बेवास्ता गरेको उजुरी परेपछि दूतावासले नेपाली कामदारलाई आफू बस्ने कोठा वरपर सफा राख्न र कम्पनीलाई कामदारप्रति गम्भीर हुन आग्रह गरेको छ। प्रायः कम्पनीले नेपाली कामदारलाई होस्टलको तल्लो तलामा राख्ने गरेकाले पनि अन्य देशको तुलनामा नेपाली कामदार लामखुट्टेको टोकाइबाट सर्ने डेंगीबाट प्रभावित हुने गरेका छन्। 

'नेपाली राखिएको ठाउँ अवलोकन गरेपछि घरको तल्लो तलालाई होस्टल नबाउन र त्यहाँ राखिएका नेपालीलाई अन्य स्थानमा सार्न हामीले कम्पनीहरूलाई भनेका छौं,' स्रोतले भन्यो, 'नेपाली कामदारले पनि उचित सरसफाइ नगरी बसेको पाइयो। एकै जनाको १०/१५ जोर जुत्ता बाहिर फ्याँकिएको, त्यसमा पानी भरिएको र कोठा बाहिर हिलैहिलो भेटिएको छ। उनीहरूलाई पनि सफाइ गर्न भनेका छौं।'

स्रोतका अनुसार डेंगीका बिरामीलाई कम्पनीहरूले बेवास्ता गर्ने गरेका छन्। डेंगी लाग्यो भनेर उनीहरू दूतावास पनि जाने गर्दैनन्। डेंगीबाट मृत्यु भएपछि मात्र साथीभाइले आफ्नो साथीको मृत्यु भएको खबर दूतावासलाई गराउँछन्। 'डेंगीका बिरामी एकदमै बढेका छन् र मृत्यु दर पनि ह्वात्तै बढेको छ। भयावह स्थिति देखिएकाले कम्पनीहरूलाई होस्टलको अवस्था सुधार भनेका छौं,' स्रोतले भन्यो। 

मलेसियाली दैनिक द स्टारको अनलाइन संस्करणमा उल्लेख भएअनुसार सन् २०१४ यता जुलाईसम्म मात्र मलेसियामा ६० हजारभन्दा बढी मलेसियाली नागरिकमा डेंगी भेटिएको छ। तीमध्ये १ सय १ जनाको मृत्यु भइसकेको छ। जबकि, अघिल्लो वर्ष यो अवधिमा जम्मा १५ हजार ४ सय मलेसियाली नागरिकमा डेंगी भेटिएको थियो भने ३१ जनाको मृत्यु भएको थियो। यो तथ्यांकमा आप्रवासी कामदारको संख्या जोडिएको छैन। अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब ४ सय प्रतिशतले डेंगीका बिरामी बढेको मलेसियाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मलेसियाका मिडियाले लेखेका छन्। 

मलेसियाको पनि सिलङ्गर राज्य डेंगीबाट सबैभन्दा बढी प्रभावित भएको छ, त्यहाँ नेपाली कामदारको संख्या निकै ठूलो छ। सन् २०१४ यता जुलाईसम्म सिलङ्गर राज्यमा मात्रै करिब ३० हजार मलेसियाली डेंगीका बिरामी अस्पताल भर्ना भएका छन्, जसमध्ये ३८ जनाको मृत्यु भएको जनाइएको छ। डेंगीका बिरामी अकल्पनीय रूपमा बढेपछि मलेसियाली सरकारले 'राष्ट्रिय कार्यदल' समेत गठन गरेको छ। 

मलेसिया नेपाली कामदारका लागि सबैभन्दा आकर्षक गन्तव्य हो। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ मा वैदेशिक रोजगारमा गएका ५ लाख २६ हजार ८ सय १४ जनामध्ये २ लाख १४ हजार १ सय ४९ जना मलेसिया गएका थिए। मलेसियास्थित दूतावासमा कार्यरत कर्मचारी र त्यहाँ रहेका नेपालीमा लागेको डेंगीका विषयमा परराष्ट्र मन्त्रालयले भने केही जानकारी नभएको जनायो।

Published on: 7 August 2014 | Nagarik

Back to list

;