s

मलेसियाको जेलमा रहेका पाँच सय नेपाली घर फर्के

मलेसियाका विभिन्न जेल तथा डिटेन्सन सेन्टर (थुनुवा केन्द्र) हरूमा रहेका करिब पाँच सयभन्दा बढी नेपाली घर फर्किएका छन् । यहाँस्थित नेपाली दूतावासका अनुसार विभिन्न अभियोगमा दोषी ठहर भई सजाय भोगिसकेकामध्ये गत २०११ जनवरीयताको करिब १४ महिनाको अवधिमा उक्त संख्यामा घर फर्किएका हुन् ।

गत २०११ जनवदेखि २०१२ फेब्रुअ २३ सम्मको अवधिमा ५ सय ३० जना बन्दी नेपालीले यात्रा अनुमतिपत्र लिएको दूतावासको तथ्यांकमा उल्लेख छ । २०१० को जुलाईदेखि सोही वर्ष अन्त्यसम्ममा १ सय ९० बन्दी नेपाली घर फर्किएका थिए । तथ्यांकलाई आधार मान्दा २०१० अघिका वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा सजाय भुक्तान गरिसकेपछि फर्कने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।
 
दूतावासले डिटेन्सन सेन्टरमा राखिएका घर फर्कने नेपालीका लागि निःशुल्क यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ । अध्यागमन नीतिविपरीत काम गर्ने एवं त्यस प्रकारका विभिन्न गैरकानुनी गतिविधिमा संलग्न भएका लगायत विभिन्न अभियोगमा पक्राउ परेका विदेशी नागरिकलाई मुद्दाको प्रकृतिअनुसार अदालती फैसलाअनुरूप कारबाही भुक्तान गरेपछि यस्ता सेन्टरमा राख्ने गरिन्छ । त्यसपछि बन्दीहरू आ–आफ्ना मुलुक फर्कन पाउँछन् ।
 
यहाँ गैरकानुनी रूपमा बसेको, गैरकानुनी काम गरेको, किर्ते कागजात बनाएको, हत्या, बलात्कार एवं विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको लगायत अध्यागमन नीतिविरोधी काम गरेको अभियोगमा विदेशी पक्राउ पर्ने गरेका छन् । नेपालीहरू भने पक्राउ परेकामध्ये धेरैजसो अवैध रूपमा बसेको आरोपमा सजाय भोगिरहेका छन् ।
 
ग्लोबल डिटेन्सन प्रोजेक्ट अनलाइनका अनुसार मलेसियाका विभिन्न स्थानमा ग करिब १५ डिटेन्सन सेन्टर छन् । दूतावासका अनुसार आवश्यकता हेरी बेला–बेलामा यहाँ भएका बन्दी नेपालीबारे जानकारी उपलब्ध हुने गर्दछ । बन्दी नेपालीको स्थितिबारे बुझ्न यहाँको सरकारको अनुमतिमा बेला–बेलामा जेल एवं डिटेन्सन सेन्टरहरूमा भ्रमण गर्ने गरेको दूतावासले जनायो । यद्यपि कतिपयलाई सार्ने, यात्रा अनुमतिपत्र एवं टिकट आफन्तमार्फत पाएमा बन्दीहरू स्वयं फर्कन सक्ने भएकाले ठोस तथ्यांक छैन । ‘सेन्टर/क्याम्पमा यति नेपाली छन्, भनेर डाटा पाइयो भने पनि त्यहाँबाट अर्कै ठाउमा सार्ने, बन्दीका आफन्तसँग सम्पर्कमा टिकट पाए सोझै फर्कन मिल्ने भएकाले स्थिर तथ्यांक हुँदैन,’ स्रोतले भन्यो ।
 
मलेसियाले केही महिनाअघि गरेको अवैध आप्रवासी कामदार दर्ता कार्यक्रमको एक तथ्यांकले करिब ३३ हजार नेपाली अवैधानिक रहेको देखाएको छ । अझै पनि कयौं नेपाली अवैध रूपमै बसिरहेको र कैयौं जेल एवं डिटेन्सन सेन्टरमा रहेको हुन सक्ने अनुमान छ । पछिल्ला वर्षमा यतै बेखबर हुने नेपालीको संख्या पनि उत्तिकै छ ।
 
स्रोतका अनुसार डिटेन्सन सेन्टर तथा जेलमा बन्दी जीवन बिताइरहेका कतिपय नेपालीविरुद्ध दूतावासमा उजुरीसमेत आउने गरेका छन् । यसरी उजुरी आएमा दूतावासले त्यस्ता व्यक्तिउपर समेत थप अनुसन्धान गरेर मात्रै घर फिर्नका लागि यात्रा अनुमतिपत्र उपलब्ध गराउँछ ।
 
हाल डिटेन्सन सेन्टरमा रहेकामध्ये धेरैजसो घर फिर्ती टिकटको पर्खाइमा दिन काटिरहेका छन् । उनीहरू आफन्त र परिवारजनसँग टिकट प्रबन्ध मिलाएर फर्कने गरेका छन् । सरकारले विदेश आउँदा प्रत्येक कामदारबाट प्रतिव्यक्ति पाँच सय उद्धार कोषका लागि भनेर लिंदै आएको छ । हाल उक्त ‘कामदार उद्धार कोष’ मा कराडौं रुपैयाँ जम्मा भइसके पनि यहाँ घर फिर्ती टिकट अभावमा बसिरहेका बन्दी नेपालीले सहयोग पाएका छैनन् ।
 
उनीहरूका लागि उक्त कोष ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैं भएको छ । दूतावासका अनुसार वैदेशिक रोजगार विभाग, प्रवर्धन बोर्ड र परराष्ट्र मन्त्रालयमा बन्दी पक्षले उद्धारका लागि निवेदन दिनुपर्छ । तर यस निवदेन दिई कोषको सहयोगमा गएको डेढ वर्षयता ४/५ जना मात्रै फर्किएको दूतावासले जनाएको छ ।
 
बन्दीका आफन्तजन भने उद्धारका लागि प्रक्रिया झन्झटिलो भएको र सरकारले सहयोग नगरेको गुनासो गर्छन् । दूतावासले यहाँ आफन्त रहेकोबारे यथेष्ट जानकारी उपलब्ध गराएमा बन्दीको स्थितिबारे बुझी मुद्दाको प्रकृति हेरेर उद्धारका लागि पहल गर्न सकिने जनाएको छ ।
 
के हो डिटेन्सन सेन्टर ?
विभिन्न अभियोगमा सजाय भुक्तान गरिसकेपछि र घर फर्कन पाउने अनुमति पाएपछि बन्दीलाई राखिने गृह हो । कतिपयले यसलाई ‘जेल’ भनेर पनि बुझ्ने गर्छन् भने कतिपयले ‘घर फिर्ती केन्द्र’ । यस सेन्टरबाट बन्दीहरू आ–आफ्ना देशका यहाँस्थित कूटनीतिक नियोग या दूतावासमार्फत आवश्यक कागजात उपलब्ध भएपछि सीधै विमानस्थल हुँदै स्वदेश फर्कन्छन् । बन्दीहरूले आ–आफ्ना आफन्तजन वा परिवारजनलाई सम्पर्क ग टिकट र यात्रा अनुमतिपत्र बनाई आवश्यक प्रक्रिया पूरा गरेपछि फर्कन पाउँछन्‌ । तर उनीहरूलाई आवश्यक पर्ने कागजात दूतावासमार्फत उनीहरूका आफन्त वा स्वयं दूतावासले नै सेन्टरमा पुर्याइदिने गर्दछ । साजनको मृत्यु, हरि आममाफी पाउने आशामा नेपालीले यहाँ आजिवन कैदसम्मका सजायसमेत भोगिरहेका छन् । नेपालीहरूले यहाँ गम्भीर प्रकृतिका मुद्दा खेपिरहेका पनि छन् । यसमध्ये लागूऔषध कारोबार गरेको गम्भीर अभियोगमा मुद्दा खेपेका हरिबहादुर घलेलाई उच्च अदालतले मृत्युदण्डको फैसला सुनाइसकेको छ । यद्यपि अन्तिम पटक उनले आममाफीका लागि यहाँका राजाकहाँ बिन्ती गर्न पाउने बताइएको छ । उनी हाल माफी पाउने आशामा जेलमै छन् । समाचारहरूका अनुसार घले २००३ मा क्वालालम्पुरबाट ८७५.२० ग्राम हेरोइनसहित पक्राउ परेका थिए । उनीसँगै एउटै आरोपमा पक्राउ परेका साजन गुरुङको भने केही वर्षअघि जेलभित्रै मृत्यु भएको थियो ।
 
Published on: 25 February 2012 | Kantipur

Back to list

;