s

मलेसियामा चार सय नेपाली कामदार हडतालमा

अर्जुन काफ्ले

कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि मलेसियाको मआरस्थित वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली हडतालमा उत्रेका छन्। कुटपिटको विरोधमा उनीहरूले गत शुक्रबारदेखि काम ठप्प गरेका हुन्। कम्पनीमा कार्यरत धनुषाका सञ्जय यादवलाई कम्पनी व्यवस्थापकले काठ प्रहार गरी घाइते बनाएपछि यहाँ कार्यरत चार सय नेपाली काम बन्द गरी आन्दोलित भएका छन्। 

घाइते यादवलाई सामान्य उपचारपछि होस्टेल पठाइएको मुहारबाट राजेश भुजेलले जानकारी दिए । कम्पनीमा करिब चार सयभन्दा बढी नेपाली, करिब एक सयभन्दा बढी बंगाली र केही भियतनामी कार्यरत छन्। आन्दोलनमा उत्रिएका नेपालीलाई कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता गरी काममा आउन आग्रह गरे पनि नेपालीले विभिन्न चार सूत्रीय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनमा उत्रिएका केही नेपालीलाई कम्पनीले घर पठाउने धम्क ीसमेत दिएको छ। मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। हाल मलेसियामा करिब सात लाखदेखि आठ लाख नेपाली कार्यरत रहेको अनुमान छ। यसमध्ये अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा मात्र दुई लाख नेपाली श्रमिक मलेसियामा रोजगारीको लागि गएका थिए। 

आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेकाले नेपाली युवा बिदेसिन बाध्य भएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोज महिनामा मात्रै १३ हजार नौ सय ७६ जना नेपाली रोजगारीका लागि मलेसिया गएका छन्। आन्दोलनमा उत्रिएका नेपालीलाई कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता गरी काममा आउन आग्रह गरे पनि नेपालीले विभिन्न चार सूत्रीय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनमा उत्रिएका केही नेपालीलाई कम्पनीले घर पठाउने धम्की समेत दिएको छ। 

मलेसियामा इन्डोर (कम्पनीभित्र) काम पाइने भएकाले यो मुलुक धेरैको रोजाइ बनेको हो। तुलनात्मक रूपमा काम गर्न सजिलो समेत भएकाले त्यहाँ जाने कामदार बढेका हुन्। मलेसिया जाने कामदारले न्यूनतम मासिक २८ हजार रुपैयाँ कमाउन सक्छन्।

नौ सय रिंगिटभन्दा कम तलबमा काममा लगाउन नपाउने भएकाले पनि कामदारको आकर्षण मलेसिया भएको हो। सबैभन्दा बढी रेमिट्यान्स पनि मलेसियाबाटै भित्रिने गरेको छ। तर, नेपाल र मलेसियाबीच कामदार लाने विषयमा श्रमसम्झौता हुन नसक्दा बेलाबेलामा कामदारका विभिन्न समस्याहरू आउने गरेका छन्। चार महिनाअघि मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड जिम आउँदा छिट्टै घरेलु महिला कामदार तथा श्रमिकको लागि दुई छुट्टाछुट्टै श्रमसम्झौता हुने भनिए पनि हालसम्म हुन सकेको छैन। 

गत चैतमा पनि मलेसियाको सेलाङगोर राज्यको ओवाइएल कम्पनीमा ३४ जना नेपाली कामदार हडताल गरेका थिए। मेनपावरले भनेअनुसारको तलब र सेवासुविधा नपाएपछि काम छाडेका उनीहरूलाई कम्पनीले कामबाट निकालिदिएको थियो। कम्पनीले कामबाट निकालेपछि कामदारले मेनपावर एजेन्टलाई नेपालबाट मलेसिया झिकाएर समस्या समाधान गर्न खोजेका थिए। उनीहरूलाई मेनपावरले तीन घन्टा ओभरटाइमको सुविधा, हप्तामा दुई दिनको काम ओभरटाइममा गनिने गरी महिनामा १२ सय रिंगेट कमाइ हुन्छ भनेर पठाएको थियो।

तर मलेसिया पुगेपछि उनीहरूलाई एक सप्लायर्स कम्पनीमार्फत ओवाइएल कम्पनीमा पुर्‍याइयो। उनीहरूलाई कम्पनीको मातहतमा काम गर्ने कामदारको भन्दा करिब आधामात्र तलब दिइएको थियो। 

Published on: 10 November 2014 | Annapurna Post

Back to list

;