s

मलेसिया जेलबाट १० नेपालीको उद्धार

प्रकटकुमार शिशिर

‘बा! म काठमाडौं आइपुगेँ। मलेसियामा ११ महिना बन्दी जीवन बिताएका रुपन्देहीका मनोज कुँवरले सोमबार काठमाडौं ओर्लिनेबित्तिकै आफ्ना पितालाई फोन गरे। बुबाको मुख हेर्ने कुशेऔंसीकै दिन परदेशको जेलमा रहेका छोराको स्वर सुन्न पाउँदा बुबाले फोनमै डाँको छाडेपछि मनोजले पनि आफूलाई थाम्न सकेनन्।

नेपाल एयरलायन्सको उडानबाट बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लँदा काठमाडौंमा सबेरैदेखि दर्केको पानी बिस्तारै टिपटिपाइरहेकै थियो। यात्रु छाड्न र लिन आएकाहरुले छाता बन्द गरेका थिएनन्। गाडीका वाइफर चलिरहेकै थिए।
११ महिनापछि एकअर्काको स्वर सुनिरहेका यी बाबुछोराको आँखाबाट पनि अविरल साउन-भदौं बर्सिंदैथ्यो।  ‘म आइपुगेँ बा,’ अवरुद्ध गला सफा गर्दै मनोजले फेरि भने। ‘आजकै दिन तेरो स्वर सुन्न पाइयो,’ ५८ वर्षीया पिता चन्द्रबहादुर पनि सुक्सुकाए, ‘अब छिट्टै घर आइज, यहाँ हामी सबै तँलाई कुरिरहेका छौं।’ मनोजले केही जवाफ दिन सकेनन्, सायद उनीसँग थिएन।

उनी घरका कति धेरै गर्जो टार्ने सपना साँचेर परदेसिएका थिए होलान्! घरका छत टाल्नु थियो होला! बुढेसकाल लागेका पिताको ‍औषधोपचार गर्नु थियो होला! यी सबै चाहनाका लागि छोराले मलेसियाबाट पठाउने पैसाकै प्रतीक्षा थियो होला! पत्नीका चाहना पूरा गर्नु थियो होला! दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगका मनोज भने सोमबार नेपाल फिर्ता एकसरो कपडामा थिए। साथमा केही थिएन।

रुपन्देही, रुद्रपुरबाट सोमबार बिहानै काठमाडौं आइपुगेका मनोजकी पत्नी र बहिनीका लागि उनको एक झल्को नै लाख बराबर भयो। सम्बन्धको प्रगाढतासामु साँचेका सबै इच्छा गौण हुने नै भए। मलेसयाली सरकारले ‘गैरकानुनी रुपमा बसेको’ भन्दै धरपकड गर्दा पक्राउ परेका कुँवरसहित १० जनालाई नेपाली दूतावासले त्यहाँको लिङकिङ जेलबाट उद्धार गरेर स्वदेश फर्काएको हो। ११ महिना बन्दी जीवन बिताएका उनीहरुमध्ये कतिले त चप्पलधरी लगाएका थिएनन्। 

उद्धार भई फर्किनेमा कुँवरलगायत संखुवासभाका हरिप्रसाद श्रेष्ठ, मिलन श्रेष्ठ, इलामका प्रेम राई, सिरहा लहानका हसिदेव चौधरी, सर्लाहीका तेजप्रसाद मैनाली, सप्तरीका प्रदीप मण्डल, काभ्रेपलान्चोकका श्रीदास तामाङ, पोखराका राजकुमार सुनुवार र इटहरीका डिल्लीराम भट्टराई छन्। 

उद्धार गरी ल्याइएका एक युवा त भित्री वस्त्र (बक्सर) र टिसर्टमै नेपाल आइपुगेका थिए। उनलाई विमानस्थलमा कार्यरत कर्मचारी, अन्य यात्रु र आफन्तले कपडा र चप्पल दिएर बाहिर निकालेका थिए। उनीहरु फरक-फरक म्यानपावरबाट मलेसिया पुगे पनि पक्राउ पर्नुको कारण उस्तै थियो। आफूहरु भिसा अवधि बाँकी हुँदाहुँदै कम्पनीको लापरबाहीले ‘वर्क परमिट’ नवीकरण नहुँदा पक्राउ परेको बताए।

मनोज १ लाख ५५ हजार रुपैयाँ तिरेर त्रिवेणी ओभरसिजमार्फत एनपिएस इन्जिनियरिङ सर्भिसमा सुरक्षागार्डको जागिर खान मलेसिया पुगका थिए। जबकि मलेसिया जाने सरदर वास्तविक लागत ८० हजार मात्र हो। त्यहाँ सुरु तलब मासिक ९ सय रिंगेट (२७ हजार रुपेयाँ) भनिएको थियो। केही समयपछि बढाएर १ हजार २ सय रिंगेट (३६ हजार रुपैयाँ) पुर्‍याउने सम्झौतामै उल्लेख थियो। तलब बढाउने बेला भएपछि कम्पनी टकटकियो। यही विषयमा कुरा नमिलेर उनी हुआस सेभगार्ड कम्पनीमा सरे।

मलेसियाको नियमअनुसार एउट कम्पनीबाट अर्कोमा सरेपछि ‘अबैधानिक’ हुने गर्छ। संयोगले त्यसबेला मलेसिया सरकारले अवैधलाई वैध बनाउने प्रक्रिया सुरु गरेको रहेछ। उनले हुआस सेभगार्डका मालिकलाई २ हजार ५ सय रिंगेट तिरे, आफूलाई वैधानिक बनाउन। ‘हुआसको साहु खराब रहेछ, त्यसले मेरो सारा पैसा खाइदियो, वैधानिक पनि बनाइदिएन,’ विमानस्थल परिसरमै ओत लागेर मनोजले नागरिकसँग भने, ‘त्यहीबीच म पक्राउ परेँ।’

उनलाई आफू एकाएक पक्राउ पर्नुको पनि हुआसका मालिककै हात रहेको शंका छ। जेल परेपछि कम्पनीले छुटाउन कुनै पहल नगरेको उनी बताउँछन्। कुँवरसँगै फर्केका संखुवासभाका मिलनले पनि आफ्नो गल्तीबिना ११ महिना जेल बस्नुपरेको गुनासो गरे। नेपालको जब सेन्टर म्यानपावर कम्पनीबाट गएका उनले भने, भिसा बाँकी भए पनि कम्पनीले वर्क परमिटको म्याद नथपिँदिँदा दु:ख बेहोर्नुपर्‍यो।’ ‘रुदै जेलमा बसियो, न राम्ररी खाना पाइयो, न केही कमाएर ल्याउन पाइयो,’ खाली खुट्टा काठमाडौं ओर्लेका उनले भने।

मलेसियाको जेलमा अरु पनि थुप्रै नेपाली कष्टपूर्ण बन्दीजीवन बिताइरहेको उनीहरु बताउँछन्। कुँवरका अनुसार जेलमा बस्दा उनीहरुलाई घरमा सम्पर्क गर्न त टाढाको कुरा, खान समेत एकछाक मात्र दिइएको थियो। ‌औषधोपचार त झन् कहाँ पाउनु!
‘हामी रहेको जेलमा १५ वटा क्याम्प छन्, जहाँ ३ सय नेपाली रहेको हामीले थाहा पाएका छौं,’ कुँवरले भने, ‘अरु क्याम्पमा पनि थुप्रै नेपाली छन्।’ 
आफू पक्राउ पर्दा अर्को एक नेपालीलाई पक्राउपुर्जी दिइए पनि उनी भागेको कुँवरले सुनाए। ‘उनलाई हामीलाई जेलमा भेटेनौं, बाहिर पनि सम्पर्कमा थिएनन्,' उनले भने।

बन्दी भएको सुरुका केही महिना नेपाली दूतावासबाट पनि कुनै सम्पर्क नभएको उनीहरु गुनासो गर्छन्। अहिले भने दूतावासबाट पनि अहिले भने दूतावासले नै टिकट खर्च बेहोरेर यी १० जनालाई नेपाल फर्काएको हो। मलेसिया सरकारको धरपकडमा सयौं युवा जेलमा परेको भन्दै उद्धारका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले केही महिनाअघि २० लाख रुपैयाँ मलेसिया पठाएको थियो। मलेसियास्थित नेपाली राजदूत निरञ्जनसिंह बस्न्यातले त्यसको पहल गरेका थिए।

फर्किएर आउनेमध्ये सप्तरीका प्रदीपले ‘कमाउन विदेश गएको मान्छे चाडपर्वका बेला रित्तो हात फर्कनुपरेको’ भन्दै चिन्ता व्यक्त गरे। ‘हामीले केही नगर्दा पनि सजाय पायौं, बोलिदिने कोही भएन,’ उनले भने।

मलेसिया सरकारले एक वर्षअघि नेपालीसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी र भियतनामी कामदारलाई पक्राउ गरेको थियो। ‘अपरेसन बरसेपाडु’ (एकीकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिएका थिए। त्यसमा एक हजारभन्दा बढी नेपाली कामदार पक्राउ गरिएको थियो।

दूतावासले आफ्नातर्फबाट ती सबैलाई नेपाल फर्काउने पहल गरिरहेको जनाएको छ। त्यसका निम्ति यात्रा अनुमतिपत्र बनाइरहेको राजदूत बस्न्यातले केही दिनअघि नागरिकलाई बताएका थिए। सोमबार फर्काइएका यी १० जना त्यसैको पहिलो चरण हो।

‘मलेसियाको जेलमा रहेका नेपालीको जीवन साह्रै कष्टकर छ, त्यसमध्ये धेरै त आफ्नो कुनै गल्ती नै नभई जेल परेका छन्,’ कुँवरले भने, ‘सरकारले जसरी हुन्छ, छिटो उनीहरुको उद्धार गर्नुपर्छ, नभए प्राण जाने स्थिति छ।’

कुँवर काठमाडौंमा झरेलगत्तै आफूलाई लिन आएका पत्नी र बहिनीका साथ रुद्रपुर गए। साँझ बाबुको मुख हेर्न भ्याउने उनको तयारी थियो।‘ परदेशको ठाउँमा छोरा जेल पर्‍यो भन्ने सुनेपछि म निकै छट्पटिएको थिएँ,’ चन्द्रबहादुरले बेलुकी नागरिकसँग टेलिफोनमा भने, ‘बाबुको मुख हेर्ने दिनमै छोराको स्वर सुन्न पाइयो।’

Published on: 26 August 2014 | Nagarik

Back to list

;