s

मलेसिया जाने कामदार ठगीका आरोपी धरौटीमा छुट्दै

वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदार ठगीमा संलग्नहरू धमाधम धरौटीमा छुट्न थालेका छन् । सोमबार मात्रै काठमाडौं जिल्ला अदालतले ६ जना अभियुक्तलाई धरौटीमा छाडेको छ । यसरी छुट्नेमा कोटेश्वरमा रहेको चेतना स्वास्थ्य सेवा केन्द्रकी सञ्चालिका चन्द्रमा राई र कर्मचारी विदुर थापा छन् । उनीहरूलाई क्रमशः ५ लाख र २० हजार रुपैयाँ धरौटीमा छाडिएको छ ।
 
उनीहरूविरुद्धको मुद्दामा ३५ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो । यसैगरी सुन्धारास्थित स्वर्णिम मेडिकल सेन्टरका सञ्चालक देवेन्द्र आचार्य ६ लाख रुपैयाँ र उनका कर्मचारी गणेश तिमिल्सिना २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । उनीहरूमाथि ५७ लाख १५ हजार रुपैयाँको बिगो दाबी गरिएको थियो ।
 
धरौटीमा छुट्ने अन्य दुईजनामा सामाखुसीको पब्लिक हेल्थ केयर सेन्टरका सञ्चालक दिनेशराज श्रेष्ठ र कोटेश्वरको हिमालय डायग्नोस्टिक क्लिनिक प्रालिका सञ्चालक यमकुमार खड्का रहेका छन् । ती दुई मेडिकल सञ्चालकविरुद्ध क्रमशः २ करोड ९० लाख ६५ हजार ६ सय रुपैयाँ र ६६ लाख २८ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको थियो । बाँकी पब्लिक हेल्थ केयरका अर्का सञ्चालक महेशराज श्रेष्ठ र हिमालय डायग्नोस्टिकका सञ्चालक सुशीला खड्का भने अझै फरार छन् ।
 
महाराजगन्जस्थित मेरिडियन हेल्थ केयर सेन्टरका सञ्चालक देवान राई भने शुक्रबार नै ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । गृहसचिव प्रेमकुमार राईको दबाबमा अनुसन्धान नसकिँदै उनको मुद्दा हतारमा अदालत पु-याइएको थियो । देवान राईमाथि २ करोड १२ लाख ३९ हजार रुपैयाँको बिगो दाबी गरिएको थियो ।
 
मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरेका ३९ मेडिकल व्यवसायीले माइग्राम्स दर्ता र बायोमेट्रिक परीक्षणका नाममा १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी ठगिसकेका छन् । पक्राउ परेका बाँकी १९ मेडिकलका सञ्चालक तथा कर्मचारीविरुद्ध दायर गरिएको मुद्दाको सुनुवाइ भने मंगलबारका लागि सारिएको छ । त्यसबाहेक अन्य मेडिकल सञ्चालक भने अझै फरार छन् ।
 
Published on: 5 June 2018 | Naya Patrika

Back to list

;