s

मलेसियामा नेपाली मजदुर आन्दोलित

तलब सुविधा वृद्धिको माग राखी कम्पनी तोडफोड र आगजनी गरेको अभियोगमा मलेसियाको जेसीवाई एचडीडी टेक्नोलोेजी नामक कम्पनीमा कार्यरत ३७ नेपाली र २ बंगलादेशीसहित ३९ जना कामदार गिरफ्तार भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कुलाइजयामा रहेको कम्पनीमा विभिन्न माग राख्दै तोडफोड र आगजनीमा उत्रिएको भन्दै प्रहरीले गिरफ्तार गरेको हो। 

कुलाइजयामा अवस्थित कम्पनीमा आफ्ना सहकर्मीमाथि कम्पनीका प्रतिनिधिले हातपात गरेको भन्दै कामदारले तलब सुविधासम्बन्धी विभिन्न माग राख्दै मंगलबार बिहानैदेखि विरोधमा उत्रिएका थिए। उनीहरूले मंगलबार बिहानैदेखि काम ठप्प पार्नुका साथै कम्पनीको म्यानेजरको कार जलाइदिएको र बेलुका कम्पनीको भवनमै आगो लगाइदिएका स्थानीय अंग्रेजी दैनिक द स्टारले उल्लेख गरेको छ। कतिपय स्थानीय सञ्चार माध्यमले कम्पनीको झ्याल तोफोड भएको र कम्पनी भवनमा आगो बालिएका तस्बिरहरू प्रकाशन, प्रसारण गरेका थिए।

आन्दोलनमा सहभागीमध्ये ३६ नेपाली र २ जना बंगलादेशी पक्राउ परेको अनौपचारिक जानकारी पाइएको र थप बुझ्ने प्रयास भइरहेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले त्यहाँ कार्यरत नेपालीलाई तोडफोड र आगजनीजस्ता गतिविधि नगर्न अनुरोध पनि गरेको छ।

घटनाबारे बुझ्न र समस्या सुल्झाउन नेपाली दूतावासका काउन्सिलर हेमलाल शर्मा भट्टराई मंगलबारै त्यसतर्फ गएका छन्। हाल उनले कामदार र कम्पनी पक्षसित छलफल गरी कामदारका माग र समस्या सुल्झाउन पहल गरिरहेका छन्। लगत्तै यसबारे विस्तृत विवरण सार्वजनिक गरिने दूतावासले जनाएको छ। 

यसअघि शुक्रबार कम्पनीले बेवास्ता गरेकाले उपचार नपाएर ताप्लेजुङका हर्कबहादुर निरौलाको निधन भएको भन्दै शुक्रबारदेखि कम्पनीको तिब्राउमा रहेको शाखामा समेत कामदार आन्दोलित थिए। त्यहाँ सोमबार कम्पनी र कामदारपक्षबीच छलफल भएको थियो।

'होस्टल व्यवस्थित हुनुपर्ने, कामदारको मृत्यु भएको खण्डमा ३ वर्षको तलब सुविधा बराबरको रकम दिनुपर्ने र बिरामी हुँदा समयमै उपचार गराउनुपर्ने हाम्रा माग थिए,' त्यहाँ कार्यरत एक नेपालीले मंगलबार टेलिफोनमा भने, 'सोमबार छलफल भयो, कम्पनी सहमत भयो, आजदेखि साथीहरू काममा फर्केका छौं। तर कुलाइजया शाखामा पनि साथीहरू आन्दोलित भइरहेका छन्।' श्वासप्रश्वाससम्बन्धी समस्याले बिरामी परेका ३१ वर्षीय निरौलाको गत शुक्रबार निधन भएको थियो। 

तिब्राउमा आन्दोलित कामदारको माग भएलगत्तै कुलाइजयामा भएको उक्त शाखामा पनि मंगलबार कामदारले प्रदर्शन गरेका हुन्। उक्त अनलाइनसित कम्पनीका एक जना अधिकारीले कामदारले लगाएको आरोपको खण्डन गरेका छन्। मलेसियामा सबैभन्दा धेरै कामदार कार्यरत रहेको कम्पनीमा हजारौं नेपालीसहित आप्रवासी कामदार कार्यरत छन्। मलेसियामा स्थानीय सुरक्षा प्रशासनwagesलाई जानकारी नदिई गरिने आन्दोलन गैरकानुनी ठहरिने कानुनी प्रावधान छ। 

यसैबीच गैरआवासीय नेपाली संघ मलेसियाले पनि उक्त घटनाप्रति दूतावासको ध्यान आकृष्ट गराएको छ। संघले बुधबार एक विज्ञप्ति प्रेषित गर्दै जोहोरबारु घटनामा ३९ जना कामदार पक्राउ परेका खबर स्थानीय सञ्चार माध्यममा आएको भन्दै त्यहाँ कार्यरत सबै नेपालीको सुरक्षाका लागि पहल थाल्न अनुरोध गरेको छ।

Published on: 28 August 2014 | Kantipur

Back to list

;