s

मजदुरले हडताल गरेपछि व्यवस्थापनद्वारा उद्योग बन्द

रोहित राई

सरकारले वृद्धि गरेको तलव उपलब्ध गराउनुपर्ने एकसूत्रीय माग राख्दै मजदुरहरु हडतालमा उत्रिएपछि यहाँका चार औषधि उद्योग बन्द भएका छन्। व्यवस्थापनले आइतबार सूचना जारी गरी मनोज फर्मास्युटिकल, शिव फर्मास्युटिकल वर्क्स, मनोज केमिकल वर्क्स र मकालु जडिबुटी प्रोडक्सन प्रालि बन्द गरेको हो।

मजदुरले उद्योगलाई धराशयी गर्ने गरी आन्दोलन अघि बढाएकाले बन्द गर्नुपरेको व्यवस्थापन पक्षले जनाएको छ। उद्योग बन्द गर्नुपरेकाले बाँकी रहेको तलब लिन आउन व्यवस्थापनले सूचनामार्फत आग्रह गरेको छ। उद्योग बन्द गर्ने सूचना जारी भएपछि आन्दोलनरत मजदुर अन्योलमा परेका छन्। माओवादीनिकट ट्रेड युनियनको पकड रहेको ती उद्योगका मजदुरको आन्दोलनलाई एमाले र माओवादी दुवैको ट्रेड युनियनले समर्थन गरिरहेको छ।

सरकारले वृद्धि गरेको १६ सय रुपैयाँ उपलब्ध गराउन माग गर्दै भदौ १२ गतेदेखि औषधि उद्योगका मजदुर आन्दोलित बनेका थिए। पहिलो चरणको आन्दोलनबाट मागको सुनुवाइ नभएको भन्दै उनीहरुले शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन घोषणा गर्दै दैनिक एक घन्टा बढाएर उद्योगमा काम बन्द गर्दै आएका थिए। औषधिजस्तो गम्भीर र संवेदनशील उत्पादनमा संलग्न कामदारहरु अनुशासनमा नरही मनखुसीले उद्योग बन्द गर्न थालेपछि व्यवस्थापनले उद्योग बन्द बाध्य भएको उद्योगपति गोविन्दराम अग्रवालले बताए। ‘उनीहरुका नेताहरुसँग मागबारे छलफल हुँदै थियो, शुक्रबारदेखि उद्योगको काम नै बन्द गर्न थालेपछि कसरी उद्योग चलाउनसकिन्छ?,' चारवटै उद्योगका संस्थापक अग्रवालले भने, ‘त्यसैले व्यवस्थापन आफैले उद्योग बन्द गर्नुबाहेकको विकल्प रहेन।'

सरकारले वृद्धि गरेको भनिएको १६ सय तलबको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदैमा मजदुरले आन्दोलन गर्नु गैरकानुनी भएको अग्रवालको दाबी छ। डेढ वर्षअघि पनि मजदुरको आन्दोलनपछि तलब, सेवा सुविधा वृद्धि गरेको उल्लेख गर्दै उनले सरकारले तोकेको मापदण्डको तलब वा उद्योगले तोकेको मापदण्डको तलब, सेवा सुविधा लिनेबारे मजदुरहरुले प्रष्ट पार्नुपर्ने बताए।

‘यथास्थितिमा उद्योग खोल्ने मनसाय छैन, उद्योगका कामदारहरु अनुशासनमा रहेर काम गर्दैनन् र उनीहरुलाई कारबाही गर्न सकिँदैन भने उद्योग कसरी चल्छ?,' अग्रवालले भने। उनले श्रम ऐन ७७(३) को अधिकार प्रयोग गरेर व्यवस्थापनले उद्योग बन्द गरेकाले वैधानिक भएको जिकिर गरे।
हडतालमा उत्रिएका मजदुरले भने सरकारले गरेको निर्णय बमोजिम तलब नबढाइ व्यवस्थापनले गैरकानुनीरुपमा उद्योग बन्द गरेको जनाएका छन्। उनीहरुले उद्योग तत्काल खोल्न र मजदुरहरुको जयाज मागलाई सम्बोधन गर्न पनि व्यवस्थापन पक्षलाई आग्रह गरेका छन्।

‘तलब बढाउन सक्दिन भनेर उद्योगमा ताला लगाउनु व्यवस्थापनको गैरकानुनी र अव्यवहारिक कदम हो। व्यवस्थापनले तत्काल उद्योग खोल्नुपर्छ र मजदुरको मागलाई सम्बोधन गर्न अग्रसर हुनुपर्छ,' अखिल नेपाल औधोगिक मजदुर संघ, संयुक्त संघर्ष समितिकी सहसंयोजक कमला श्रेष्ठले भनिन्। उद्योग व्यवस्थापनलाई एक सूत्रीय माग पूरा गर्न आग्रह गर्दै भदौ ४ गते माग पत्र पेस गरेको र भदौ १२ गते पहिलो चरणको र १६ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेकाले सूचनाविना आन्दोलन भएको भनी व्यवस्थापनले लगाएको आरोपमा सत्यता नभएको उनले दाबी गरिन्।

Published on: 5 September 2011 | Nagarik 

Back to list

;