s

मजदुरले तलब नपाउँदा अन्तिम चरणको काम ठप्प

हिमाल लम्साल

 मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ। हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले मजदुरको तलब रोकेको हो।

कुलेखानी तेस्रोका सहायक निर्देशक रत्नकुमार श्रेष्ठले जिनलुनले तीन महिनादेखि तलब नदिएको भन्दै मजदुरले एक महिनादेखि काम नगरेको बताए। उनले भने, ‘हामीले विवाद समाधान गर्न तारन्तार खबर गरिरहेका छौं। अहिलेसम्म सुल्झिन सकेको छैन।’

उनका अनुसार अहिले आयोजनाको साइट सुनसानजस्तै छ। ‘आयोजनाको ड्राई टेस्ट सम्पन्न भइसकेको थियो,’ उनले भने, ‘पछिल्लो समय आएको विवादकै कारणले आयोजनाको काम ठप्प भएको हो।’

सहायक निर्देशक श्रेष्ठले ठेकेदार कम्पनीले अझैसम्म मजदुरको बाँकी बक्यौता रकम नतिरेको बताए। ‘आयोजनाको लगभग सबै प्राविधिक काम सम्पन्न भइसक्यो,’ उनले भने, ‘अब विद्युत् प्राविधिक परीक्षण गर्न मात्र बाँकी छ।’ आयोजनाका सहायक निर्देशक श्रेष्ठले समयमा काम सम्पन्न नगरेको भन्दै आयोजनाले ठेकेदार कम्पनी झेजियाङ जिनलुनलाई १० प्रतिशत हर्जना लगाउँदै आइरहेको बताए।

यसअघि पाँच सय मिटर प्रसारण लाइन निर्माणमा देखिएको समस्यासमेत समाधान भइसकेको आयोजनाले जनाएको छ। ‘यसअघि पाँच सय मिटर प्रसारण लाइन जडानमा समस्या देखिएको थियो,’ उनले भने, ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलकदमीमा अहिले प्रसारण निर्माणको काम सम्पन्न भइसक्यो।’ पछिल्लो समय आयोजनाले भदौको पहिलो सातादेखि बिजुली उत्पादन हुने लक्ष्य राखेको थियो। तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालकै कारण वर्षाैंदेखि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम अल्झिएको छ।

कुलेखानीमा दुईवटा युनिट छन्। दुवैबाट ७–७ मेगावाट बिजुली उत्पादन हुनेछ। आयोजनाका सहायक निर्देशक श्रेष्ठ निर्माण समय लम्बिँदा लागत खर्च दोब्बर बढेको बताउँछन्। ‘२०६४ सालमा निर्माण थालिएको आयोजना २०७६ सालमा सम्पन्न हुँदा अवश्य नै लागत बढ्ने भयो,’ उनले भने, ‘आयोजना निर्माणमा ढिलासुस्ती पक्कै भएको हो। तर, सबैले ढिलो भयो मात्र भन्छन्। कसैले पनि फिल्डको वास्तविक समस्यामा ध्यान दिँदैनन्।’

कुलेखानी तेस्रोबाट उत्पादन हुने बिजुली काठमाडौं–हेटौंडाको १३२ केभी प्रसारण लाइनमा जडान हुनेछ। ‘प्रसारण लाइनको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘विद्युत् उत्पादन हुनेबित्तिकै काठमाडौं–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ।’ आयोजनाका अनुसार ठेकेदार कम्पनीले नियमित काम गरेको खण्डमा एक महिनासम्म परीक्षण प्रसारण गरेर विद्युत् उत्पादन गर्न सकिनेछ।

कुलेखानी तेस्रो २०६४ चैतमा तीन वर्ष आठ महिनामा सम्पन्न गर्ने गरी दुई अर्ब ४३ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो। अहिले आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ। आयोजनाका अनुसार चार अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको छ।

Published on: 23 August 2019 | Nagarik

Back to list

;