s

मजदुरलाई खर्च लिन बोलाउने ठेकेदार अझै बेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुलबुले खोलामा पुल बनाउने मजदुरलाई खोटाङबाट खर्च लिन काठमाडौं बोलाउने ठेकेदार अझै सम्पर्कमा आएका छैनन् ।

मध्यपहाडी लोकमार्ग जोड्ने बुलबुले खोलामा पुल बनाउने ठेक्का सगरमाथा/घिमिरे कन्स्ट्रक्सनले पाएका थिए । यो कम्पनीका सञ्चालक शम्भु घिमिरेले पूर्ण शाक्य र शशी राईलाई सब कन्ट्रयाक गरेर ठेक्का जिम्मा लगाएका थिए । 

‘मजदुरलाई अलपत्र पारेको खबर मैले पनि समाचारबाट थाहा पाएँ,’ कम्पनीका सञ्चालक घिमिरेले भने, ‘यस्तो हुन नहुने हो । काठमाडौंमा पैसा दिन्छु भन्दै बोलाउने साथीसँग मैले पनि कुरा गर्न खोजें, सम्पर्क भएन । उनीहरुलाई ज्याला दिँदै नदिएको चाहिँ होइन रहेछ । केही रकम लिएर आएका रहेछन् ।’ मजदुरहरुलाई शशीले काठमाडौंमा खर्च लिन आउन भन्दै बोलाएका थिए ।

लकडाउनलगत्तै घर फर्कन लागेका दुई जनालाई सब कन्ट्रयाक्टरले ७४ हजार रुपैयाँ उपलब्ध गराएकामा सबैले बाँडेर लिएको मजदुरहरुले बताएका छन् । यो रकम लकडाउनको बेला र बाटोमा आउँदा खर्च भएको मजदुरहरु बताउँछन् ।

६ दिन हिँडेर काठमाडौं आइपुगेका मजदुरलाई सहयोग गर्न चाहे पनि नभेटिएको घिमिरेले बताए । ‘उहाँहरुलाई तत्काल ५० हजार रुपैयाँ दिन्छु भनेर खोजें । तर, भेट्न सकिएन,’ उनले भने ।

खोटाङबाट हिँडेर काठमाडौं आइपुगेका १३ जनालाई प्रहरीले गाडीको व्यवस्था गरेर शनिबार राति नै बर्दिया पठाइसकेको छ । 

हिँडेर काठमाडौं आए पनि पैसा दिने भन्दै बोलाएका ठेकेदार मोबाइल अफ गरेर सम्पर्क बिहीन भएपछि खोटाङबाट हिडेर आइपुगेका बर्दिया बासगढी नगरपालिका ९ माछागढका वीरबहादुर रावत सहित १३ जना अलपत्र परेका थिए ।

राज्यमन्त्री दुगडद्वारा सहयोग

उद्योग तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले खोटाङबाट हिँडेर काठमाडौं आएका मजदुरलाई राहत उपलब्ध गराएका छन्् । प्रहरीले गाडीको व्यवस्था गरेर घर पठाएका मजदुरलाई बाटोमा तिर्ने गाडी भाडा र खाना खर्च उनले उपलब्ध गराएका हुन् । ‘मजदुरहरु बेखर्ची भएको र खाना नपाएको खबरले दुखित भएँ,’ उनले भने, ‘उहाँहरुलाई तत्काल आवश्यक खर्च दिएको छु । ठेकेदारबाट ज्याला उठाउन पनि सहयोग गर्छु ।’

Published on: 3 May 2020 | Kantipur

Link

Back to list

;