s

मजदुरलाई बढेको पारिश्रमिक दिन श्रम कार्यालयको निर्देशन

देवेन्द्र कार्की
 
श्रम तथा रोजगार कार्यालय विराटनगरले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी मजदुरलाई सरकारले तोकेअनुसार पारिश्रमिक दिन निर्देशन दिएको छ । प्रतिष्ठानमा सुरक्षा ठेक्का पाएको केटिएम सेक्युरिटी प्रालिले त्यहाँ कार्यरत एक सय ३९ जना मजदुरलाई सरकारले तोकेअनुसार पारिश्रमिक नदिएको उजुरी परेपछि श्रम कार्यालयले यस्तो निर्देशन दिएको हो । 
 
प्रालिमा तीन वर्षदेखि कार्यरत मजदुरलाई श्रम ऐन र नियमावलीबमोजिम पारिश्रमिक नदिएको भन्दै एक सय ३९ जना मजदुरले श्रम कार्यालय, विराटनगरमा उजुरी दिएका थिए । उजुरीको सुनुवाइ गर्दै श्रम कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले केटिएमले पाउने भुक्तानी रोक्का गरी मजदुरले नियमअनुसार पाउने सुविधा मिलाउन प्रतिष्ठानलाई निर्देशन दिएका हुन् । 
 
२८ फागुनमा श्रम कार्यालय, सेक्युरिटी कम्पनीका सिइओ गोविन्द गुरागाईं र मजदुरबीच सरकारले तोकेबमोजिम मजदुरलाई भत्ता र पारिश्रमिक दिने सहमति भएको थियो । तर, कम्पनीले सहमति कार्यान्वयन नगरेको केटिएममा कार्यरत मजदुर तथा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका सचिव प्रवीण राईले बताए ।
 
कम्पनीले सम्झौता कार्यान्वयन नगरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख वरिष्ठ अधिकृत सञ्जेलले बिपी प्रतिष्ठानलाई केटिएमको भुक्तानी रोक्न पत्राचार गरेका छन् । केटिएमले बिपी प्रतिष्ठानसँग तीनवर्षे सम्झौता गरेर सुरक्षा मजदुर खटाउँदै आएको छ ।
 
मजदुरले मासिक १२ सय भत्ता पाएनन्
 
साउनदेखि सरकारले बढाएको भत्ताबापतको १२ सय कम्पनीले नदिएको मजदुरको गुनासो छ । कम्पनीले १५ दिनको तलबसमेत रोकेको सेक्युरिटी गार्ड प्रवीण राईले बताए । ‘अर्को महिनामा गाभेर दिने भनिएपछि हालसम्म १५ दिनको तलबसमेत दिएका छैनन्,’ राईले भने । प्रतिष्ठानमा कार्यरत रेक्युरिटी मजदुरले हाल मासिक १३ हजार चार सय ५० रुपैयाँ पाउँदै आएका छन् । बढेको पारिश्रमिकसहित मजदुरले मासिक १४ हजार ६ सय ५० रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म कम्पनीले दिएको छैन ।
 
Published on: 19 April 2019 | Naya Patrika

Back to list

;