s

मजदुरको पीडा : छ त केवल भोक

रेखा भुसाल

 

बुटवल- विश्वमा कोरोनाको संत्रास छ। देश लकडाउनमा छ। बजार बन्दसँगै मजदुरी गर्नेले पसिना बगाउने ठाउँ पनि छैन। ति मजदुर जसले ठूला ठूला महल बनाए, चिल्ला सडक बनाए अहिले न उनीहरुसँग खाने रासन छ न सरकारले दिने राहतमा पहुँच। छ त केबल भोक छ। जसै भए पनि आफ्नो गाउँ पुग्ने हुटहुटी छ। 

लम्बिदो लकडाउन पछि घरसम्म पुग्न सडकमा पैदल निस्कनेहरुको संख्या ह्वात्तै बढेको छ।  खाने खर्च सकिएपछि बिभिन्न जिल्लाबाट मजदुरहरु पैदलै घर फर्कीरहेका छन्।  

अहिले पूर्वपश्चिम राजमार्गमा दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठान, कैलाली, बैतडी, जुम्लासम्म पुग्ने मजदुरहरु बाक्लै भेटिन्छन्। काभ्रे, काठमाडौं, हेटौडा, चितवन, रुपन्देही,  नवलपरासी,  कपिलबस्तु, पाल्पा लगायतका जिल्लाबाट  मजदुरहरु धमाधम  घर जान निस्केका हुन्। उनीहरु भन्छन् हामीसँग अहिले भोक छ। त्यो पुरा गर्न अभाव छ। यसैले त सयौं किलोमिटरको पैदल यात्रा उनीहरुले तय गरे। 

चार दिन अघि काठमाडौं र भक्तपुरबाट हिडेका बर्दियाका ३५ जना मंगलबार बुटवलमा भेटिए।  ती सबै निर्माण मजदुर हुन्।  भोक प्यास  र थकाइले लखतरान परेकाहरुको दयनीय अवस्था देखेपछि  सैनामैनाको नवयुग क्लबले खाना खुवायो।  बर्दिया सम्म पुग्न बसको व्यवस्था पनि गरिदियो।  मंगलबारै दिउँसो यात्रुले कोचाकोच भएका दुइवटा ट्रक पनि बुटवल बजार हुँदै पश्चिम तर्फ लाग्यो।  मंगलबार साँझ भइसक्दा सडकमा पैदलयात्रीको उपस्थिती बाक्लीदै थियो।  

त्यस अघि सोमबार काभ्रे, लमजुङ, काठमाडौं, हेटौडा, चितवन, रुपन्देही लगायतका जिल्लाबाट दिँउसो ८२ जना  र साँझ २२  जनाको टोली बुटवल आएको थियो।  उनीहरु कैलाली, बैतडी, बर्दिया, बाँके र दाङ पुग्ने थिए।  ट्रक, टिप्पर र पैदल गरेर बुटवलसम्म आइपुगेकाहरुको खुट्टा सुनीएको थियो।  महिला बालबालिकासहितको समूहलाई सैनामैनाका स्थानीय बाबुराम पोख्रेल, खेमराज पोख्रेल, बिष्णु काफ्ले, बसन्त पाण्डे र रामप्रसाद अधिकारीले खानाको व्यवस्था गरीदिए।  सालझण्डी प्रहरीको सहायतामा  ट्रक खोजेर चढाइदिए। कपिलबस्तुको चन्द्रौटासम्म ट्रकले  उनीहरुलाई पुर्याइदिए पनि कैलालीसम्मको यात्राको बन्दोबस्ती भने अनिश्चित नै थियो। सोमबारै सोलुखुम्बु काभ्रे काठमाडौं र चितवनबाट आएका १०५ जनालाई बुटवल उपमहानगरले नै बसकै व्यवस्था गरेर बर्दिया पठाएको थियो। 

खाने खर्च सकिएर पाँच बर्षे छोरालाई समेत भोकै राख्नु परेपछि बाध्य भएर पैदलै चितवनदेखि घर जान हिँडेको बर्दिया राजापुरकी सूचना थारुले बताइन्। ‘बन्द लम्बियो,काम रोकीयो।  न पैसा, न खाने खर्च।  सबै रित्तिएपछि घर नगएर कहाँ जाने त ?’सूचनाले भनीन। 

रुपन्देहीबाट सोमबार साँझ पैदलै बर्दियाको राजपुरकालागि हिडेका आशाराम थारुले पनि अर्काको शहरमा भोकभोकै मर्नु भन्दा पैदलै गाँउ फर्कन लागेको बताए।  गरिब मजदुरका पीडालाई ठेकेदारले मात्र हैन सरकारले समेत वास्ता नगरेको गुनासो आशारामको  छ।  ‘न काम गर्न दिने।  न रासन पानी। न घर जान दिने।  सोच्दा सोच्दै बहुलाइन्छ की भन्ने डर पो भयो।  त्यसैले बरु हिड्यौं जे हुन्छ हुन्छ भनेर निस्केका हौं’ आशारामले भने।  कैलालीकी लक्ष्मी र सबिना थारुले पनि लामो समय बन्द हुँदा खाने खर्च सकिएको र ठकेदार पनि सम्पर्क बिहिन भएपछि पैदलै हिडनुको बिकल्प नभएको बताए।  

सडकमा पैदल हिड्नेहरु अधिकांस निर्माण मजदुर  छन्।  जसलाई काममा जोतीदा जोतीदै लकडाउन हुँदैछ या त्यसपछिको अवस्था के हुन्छ भन्नेबारे बेलैमा जानकारी भएन।  जसका कारण मजदुरीका लागि बिभिन्न जिल्ला पुगेकाहरु घर फर्कन पाएनन्।   ‘दिनभरी काममा जोतीयौं।  सुत्नेबेला रेडियो सुनेको  अव गाडी नचल्ने, जो जहाँ छ त्यही बस्नु पर्छ।  सरकारले लकडाउन गर्‍यो भन्ने समाचारले सुन्यौ। त्यही पनि गाडी पाइन्छ की भनेर अर्को दिन बाटोमा निस्केको प्रहरीले रोक्यो अनि थुनीयौं’ आशारामले भने। 

मजदुरीका लागि थातथलो छोडेर बिभिन्न जिल्ला पुगेका मजदुरहरुलाई केही  समय त काम लगाउने ठेकेदारले रासन पानी दिए।  तर ठेक्काकै काम रोकीएपछि धेरै दिन पाल्न नसक्ने भन्दै एकाएक ठेकेदारहरु सम्पर्क बिहिन भए।  स्थानीय तहहरुले पनि बाहिरी जिल्लाका मजदुरलाई राहत दिएनन।  ती मजदुरलाई काममा लगाएर पैसा कमाएका ठेकेदारले नै पाल्नु पर्ने तर्क अधिकांस पालिकाहरुले गरे।  स्थानीय सरकार र ठेकेदारको गैरजिम्मेबार पनले बिपन्न मजदुर भोकभोकै परे।  

जसका कारण कोरानाबाट बच्न दुरी कायम गर्ने, अत्यावश्यक बाहेक हिडडुल नगर्ने भनिएपनि महिला बालबालिकाहरु सहित हुलका हुल मजदुरहरु सयौं किलोमिटरको असुरक्षित पैदल यात्रा गर्न बाध्य भएका हुन। 

प्रदेश नं. ५ को अस्थाइ मुकाम बुटवल हुँदै सरदर दैनिक दुइ/ढाइ सय मजदुरहरु पैदल, ट्रक टिप्परमा कोचीएर यात्रा गरीरहेका छन।  

त्यसरी पैदल हिडनेहरुले न त दुरी कायम गरेका छन् न उनीहरुको स्वास्थ्य जाँचको व्यबस्था छ।  सेनिटराइजर नगरीएका मालबाहक ट्रक तथा तरकारी बोक्ने पिकअप गाडीमा २५/३० जना  कोचिएर यात्रा गरेका भेटिन्छन।  त्यसरी यात्रा गर्दा सडकको दुरी छोटीए पनि कोरोनाको जोखीम झन बढने सरोकारवालाहरु बताउन्।  

दोश्रो संविधान सभाका सदस्य बिनोद पहाडीले समूहमा हिँडदा या ट्रक टिप्परमा कोचिएर यात्रा गर्दा कोरोनाको जोखीम झन बढाएको बताए।  ‘कारोना मात्रै हैन अन्य स्वास्थ्य समस्या निम्तीयो  भनेपनि अहिलेको परिस्थितीमा त्यो हाम्रा लागि दुर्भाग्य हुनेछ’ पत्रकार समेत रहेका पहाडीले भने। 

पैदलै घर फर्कीरहेकाहरु दिनमा भन्दा रातको समयमा धेरै हिडछन।  ‘दिउँसो घामले पोल्छ।  बजारका मान्छेले गाली पनि गर्छन्।  प्रहरीले रोक्न खोज्छ त्यसैले राती ज्यादा हिड्छौं ’सोमबार रुपन्देहीबाट बर्दियाको राजापुरकालागि निस्कीएका आशाराम चौधरीले भने।  रातीको यात्रा सहज होस भनेर बाटोमा भेटिएकाहरु एउटै समूह बनाएर हिडेको बर्दियाकी सुचना थारुले बताइन।  समूहमा हिडेका मध्ये अधिकाँसले नियमित मास्क लगाउँदैनन।   हिडदा स्वास फुलेर मास्क लगाउनै नसकेको दाङका अर्जुन चौधरीले बताए।  

सडकमा त्यसरी हिडने मजदुरलाई बेलैमा व्यवस्थापन तथा उद्यार नगर्ने हो भने जटिल समस्या निम्तन सक्ने बताउँछन पर्रोहा बहुमुखी क्याम्पसका प्रमुख चित्रबहादुर केसी।  प्रदेश र स्थानीय सरकारले आफ्नै आँगनबाट सयौं सर्बसाधारणहरु असुरक्षित यात्रा गरीरहदा मुक दर्शक बनेको प्राध्यापक केसीको ठहर छ।  ‘कि त सुरक्षित यातायातको व्यवस्था गरेर घर पुर्याइदिनु पर्यो होइन भने उचित राहत प्याकेज दिएर जो जहाँ छन् त्यही राख्न सक्नु पर्यो’ प्राध्यापक केसीलले भने। 

संविधान सभा सदस्य पहाडीले कारोना संक्रमणको जोखीम झन् बढीरहेका बेला लकडाउनलाई कडाइ गर्ने भनेपनि तीन वटै सरकारले आफ्नो जिम्मेबारी र दायित्व सहि ढंगले निर्वाह गर्न नसकेको टिप्पणी गरे।  ‘सर्बसाधारणहरु भोकभोकै हप्ता दश दिन हिडिरहेका  छन्।  ट्रक टिप्परमा कोचिएर यात्रा गरेको तीनवटै सरकारले  देखेका छन।  तर खै त जीम्मेबारी लिएको ?’ पहाडीले प्रश्न गरे।  आफु सुरक्षित भए बिपन्न मजदुरहरुको जे सुकै होस भन्ने चरित्र सरकार र राज्यका अंगहरुले देखाइरहेको पहाडीको ठहर छ।  कोरोना संक्रमणको जोखीम बढीरहेका बेला तीन तहकै सरकारले यसलाई  गम्भिरता पुर्वक  समाधानको पहल तत्काल थाल्नु पर्नेमा जोड। 

Published on: 15 April 2020 | Nagarik

Link

Back to list

;