s

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

कैलाली - धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन्। कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए। 

लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबैँक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ। युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ। उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ। 

नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो। उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो। वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो। अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पुर्‍याउने काम भइरहेको बताइएको छ। 

धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिए। त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए।

Published on: 3 April 2020 | Nagarik

Link

Back to list

;