s

मजदुरको योगदानको उच्च मूल्यांकन हुनुपर्छ : प्रदेश प्रमुख शर्मा

बलराम पुडासैनी

हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमजिवी तथा मजदुरको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् । १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजान श्रमिकहरूको अमूल्य योगदान रहेको उल्लेख गरे ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक,उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको अवस्थामा अब राज्यपक्ष थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

‘आज यो दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक,क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षालगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ,'शर्माले जारी गरेको सन्देशमा उल्लेख छ ।

उनले मजदुर दिवसले संसारभरका सम्पूर्ण श्रमजिवीहरूलाई एउटै सूत्रमा बाँधी आफ्नो हक,अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भनी शुभकामना समेत दिएका छन् ।

Published on: 2 May 2023 | Annapurna Post

Link

Back to list

;