s

मजदुरको पीसीआर टेस्ट गराउन भनेपछि उद्योग बन्द

विनोद भण्डारी

विराटनगर — स्थानीय तहले पीसीआर परीक्षण गराएर मात्र मजदुर, कर्मचारीलाई काममा लगाउन भनेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । उद्योगले मजदुर, कर्मचारीको कोरोना परीक्षण आफ्नै खर्चमा गराउनुपर्ने र पोजिटिभ देखिए आफैंले व्यवस्थापन पनि गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि उद्योग नै बन्द गर्नुपरेको सम्बद्ध पक्षको गुनासो छ ।

अधिकांश भारतीय कामदार कार्यरत बूढीगंगा १ स्थित आरती स्ट्रिप्सका २२ जना कामदारमा कोरोना पुष्टि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा स्थानीय निकाय र प्रशासनले कडाइ गरेको हो । उक्त उद्योगलाई प्रशासनले हाल सिल गरेको छ । चैत ११ देखि सुरु भएको लकडाउनमा पनि उक्त उद्योगले गेटमा चाबी लगाएर भित्री रूपमा काम जारी राखेको थियो ।

बूढीगंगा र कटहरी गाउँपालिकामा तीन सयभन्दा बढी उद्योग छन् । ती दुवै गाउँपालिकाले मजदुर र कर्मचारीको पीसीआर परीक्षण अनिवार्य गर्न र पोजिटिभ रिपोर्ट आए आफैंले व्यवस्थापन गर्न हरेक उद्योगलाई पत्र पठाएका छन् । ‘एउटा उद्योगमा कम्तीमा पनि ५ सयदेखि २ हजार मजदुर कर्मचारी छन्,’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘५५ सयका दरले खर्च गरेर परीक्षण र त्यसपछि आउने परिणामको पनि आफैंले व्यवस्थापन गर्नुभन्दा उद्योग नै बन्द गर्नुको विकल्प भएन ।’ 

दुवै पालिकालाई उद्योगले हरेक मजदुर कर्मचारीको पीसीआर परीक्षण गराउन नसक्ने बरु उद्योग नै बन्द गर्ने उद्योग संगठनले जानकारी दिएको छ । ‘लकडाउनले बजार बन्द हुँदा उत्पादनको माग पनि छैन । भए पनि आपूर्ति गर्न सक्ने स्थिति नहुँदा ६० प्रतिशत उद्योग बन्द भइसकेका छन् । चलेकाले पनि ४० प्रतिशत क्षमतामा सामान उत्पादन गर्दै आएका छन्,’ घिमिरेले भने । एक साताअघि नै मजदुर कर्मचारीलाई घरमै बस्न भनेर उद्योग बन्द गरेको कटहरीमा सञ्चालित एक खाद्य उद्योगका सञ्चालकले बताए । 

कोरोनाको मनोवैज्ञानिक त्रासका कारण पनि प्रायः उद्योग बन्द भएको संगठनका अध्यक्ष घिमिरेले जानकारी दिए । कोरोना संक्रमितको संख्या हरेक दिन बढ्न थालेपछि स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न उद्योगका भवनको माग गर्न थालेपछि पनि केही उद्योग बन्द भएका छन् । पछिल्लो समय उद्योगले कच्चापदार्थ आयात गर्न छाडेको र यस्तै अवस्था रहे करिडोरका सबै उद्योग चाँडै बन्द हुने घिमिरेले बताए ।

विराटनगर भन्सारको तथ्यांकअनुसार साउन दोस्रो सातायता जोगबनी नाकाबाट औद्योगिक कच्चापदार्थको आयात र उत्पादित वस्तुको निर्यात ठप्पप्रायः छ । पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात मात्र नियमित भएको भन्सार अधिकृत गोपी उप्रेतीले जानकार दिए । साउनमा मात्र तेस्रो सातासम्म जोगबनी नाका हुँदै ७ लाख ९१ हजार ३ सय १७ रुपैयाँबराबरको २ करोड ८६ लाख ४३ हजार २ सय ९३ केजी खाद्यान्न आयात भएको छ । आयात भएका खाद्यान्नमा गहुँ, जुनेलो, कोदो, मकै, धान, चामल, कनिका र फापर छन् ।

Published on: 14 August 2020 | Kantipur

Link

Back to list

;