s

मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम

राजकुमार कार्की

सिन्धुली — मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ । सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।

सुनकोसी मरिण डाइभर्सनअन्तर्गत सुरुङ मार्गको ठेक्का लिएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक)का जनसम्पर्क अधिकृत जनक विकका अनुसार अर्धदक्ष मजदुरले ८ घण्टा काम गरेबापत पाउँदै आएको ५८० रुपैंयाँमा ३० रुपैयाँ बढाएर ६१० कायम गरिएको छ । त्यस्तै दक्ष मजदुरको हकमा ७५० मा ३० बढाएर ७८० रुपैयाँ बनाइएपछि आन्दोलनरत पक्ष र ठेकेदार कम्पनीबीच सहमति भएको हो । जिल्ला दररेटमा भने अर्धदक्ष कामदारको ७५० र दक्षको एक हजार पारिश्रमिक छ ।

आन्दोलनरत मजदुरहरुले १० वटा माग राखेकोमा मुख्य पारिश्रमिक वृद्धि थियो । अन्य मागहरु कम्पनीले यसअघि नै सम्बोधन गरिसकेको जनसम्पर्क अधिकृत विकको दावी छ । कमलामाई नगरपालिका २ को कुसुमटारमा सुरुङ खन्नको लागि प्रवेश मार्गमा पाँचसय भन्दा बढि नेपाली मजदुरहरु कार्यरत छन् ।

आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकेदार कम्पनी, आयोजना, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच वार्ता भई सहमति भएसँगै काम अगाडि बढेको छ । ‘सुरुङ खन्नमा प्रयोग हुने टीबीएम मेसिनको प्लेटफर्म जडान भइरहेको छ,’ उनले भने, ‘अब दुई महिनाभित्रमा सुरुङ खन्ने कामको थालनी हुन्छ ।’ सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत् समेत उत्पादन गर्ने आयोजनाको उद्देश्य छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचनाको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । आयोजना आर्थिक वर्ष २०८२/८३ सम्ममा सक्ने लक्ष्य छ । सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

Published on: 8 August 2022 | Kantipur

Link

Back to list

;