s

मजदुरको मृत्युले परिवार समस्यामा

मनोहर पोखरेल 

राजविराज : विश्वभरी श्रमिक दिवसको सन्दर्भमा शुभकामना आदानप्रदान भइरहेका बेला सप्तरीका एक मजदुरको कुटपिटका कारण मृत्यु भएको छ।

कुटपिटबाट घाइते सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरका ४२ वर्षीय बुधन सदाको मृत्यु भएको उनकी श्रीमति प्रमिलादेबी सदाले बताइन्। उपचारका लागि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका सदाको उपचारका क्रममा मृत्यु भएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले बताए।

मलेकपुरका सदा गत बैशाख ९ गते मजदुरीका लागि भारत हरियाणाको जमुनानगर गएका थिए। श्रीमति प्रमिलाले घरपरिवारको जिम्मेवारी सम्हाल्ने भन्दै उनलाई मजदुरीका लागि पठाएकी थिइन्। प्रमिलाका अनुसार छिन्नमस्ता गाउँपालिका-७ हाटीका रमेश यादवले सप्तरीको विभिन्न गाउँका मजदुरलाई प्लाइबोर्ड कारखानामा काम गराउनका लागि लिएर गएका थिए।

सदाका दुई छोरा र दुई छोरीमध्ये जेठा छोरा र जेठी छोरीको विवाह भइसकेको छ। कान्छी छोरीको विवाहका लागि धन कमाउने अभिलाषा लिएर सदा भारत गएका थिए। बुधनले फोनमा मेहनत अनुसारको दाम र माम नपाएको तथा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिदै गएकाले घर आउने बताएका थिए।

उनी बिहीबार घर त आइपुगे तर घाइते अवस्थामा। शरीरमा चोटपटक लागेर घाइते अवस्थामा भारतीय सीमामा ल्याएर छाडिएका सदालाई परिवारका सदस्यले घर ल्याएको राजगढ गाउँपालिका ५ का वडा अध्यक्ष लक्ष्मी ठाकुरले बताए।

बुधन सदाले भनेअनुसारको पारिश्रमिक र खाना मागेकै कारण उनीमाथि कुटपिट भएको प्रमिलाले बताइन्। सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सीमा भारतको न्योरमा सदालाई घाइते अवस्थामा ल्याएर छाडे पछि बिहीबार घर लिएर आएको उनले बताइन्। हात, खुट्टा र छातिमा निलडाम, चोटपटक लागेको अवस्थामा हिंडडुल गर्न असमर्थ रहेका सदालाई शुक्रबार अस्पताल भर्ना गराइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयो। 

अस्पतालले केही दिन अगाडिकै चोटपटक हुन सक्ने भन्दै पोष्टमार्टमका लागि धरान लैजान सुझाव दिएको दलित अधिकारका क्षेत्रमा कार्यरत शिवशंकर रामले जानकारी दिए। आर्थिक अभाव त्यसमाथि श्रीमानको मृत्युको पीडाले अद्र्धचेत बनेकी प्रमिला एकहोरो रोइ मात्र रहेकी छिन्। मृतकको शव पोष्टमार्टमका लागि धरान लैजान चन्दा सहयोगको लागि पहल शुरु गरिएको छ।

घर परिवारको सहारा रहेका बुधनको मृत्युले परिवारजनका साथै पुरै गाउँ शोकमा डुबेको स्थानीय डम्बर महतोले बताए। मृत्युसँगै परिवारमा आर्थिक संकट थपिएको छ। घरको मियो ढलेपछि परिवार नै समस्यामा परेको छ।

Published on: 2 May 2021 | Annapurna Post

Link

Back to list

;