s

मजदुरीको कमाइ बाटोमै लुटियो

भवानी भट्ट

कञ्चनपुर — तीन महिनाअघि कामको खोजीमा भारत उत्तराखण्डको अल्मोडा पुगेका सुर्खेतका चित्रबहादुर बस्नेत आइतबार घर फर्किंदै थिए । अल्मोडाबाट बिहानै छिमेकी हिक्मत रोकाया र सँगै काम गर्ने रुकुमका भीमबहादुर विष्टसँगै हिँडे । साँझ कञ्चनपुरको गड्डाचौकी सीमापारि बनबासा आइपुगे ।

त्यहीं बास बस्ने निर्णय गरे । भारतकै हल्द्वानीबाट कोहलपुर घर बताउने एक व्यक्ति उनीहरु सवार बसमा चढेका थिए । ति व्यक्ति उनीहरुको सिट नजिकै आएर बसे र गफगाफ गर्न थाले । यात्राका क्रममा उनीहरु निकै नजिक भइसकेका थिए । राति बनबासामा पनि एकै होटलमा बसे ।

त्यस क्रममा ती अपरिचित व्यक्तिले खाना खानुअघि चिसो पेय पदार्थ ‘माजा’ लिएर आए । विष्ट, बस्नेत र रोकाया तीनै जनाले पालैपालो माजा पिए । ‘त्यसपछि आँखा वरिपरि अँध्यारो भयो, केही थाहा भएन,’ बस्नेतले भने, ‘हामीसँग भएको नगद, मोबाइल र कपडासमेत सबै लगेर गयो, ढुंगा, बालुवा बोकेको कमाइ पनि रहेन ।’

बस्नेतसँग १३ हजार र रोकायासँग १६ हजार भारतीय रुपैयाँ थियो । विष्टले थोरै नगद मात्रै खल्तीमा राखेका थिए । आफ्नो ६ हजार भारु र एक मोबाइल मात्रै लुटिएको विष्टले सुनाए । ‘अरू रुपैयाँ कपडाले छातीमा बाँधेको थिएँ । त्यो भने जोगियो,’ उनले भने । सोमबार बिहान बेहोसीमै गड्डाचौकी नाका आइपुगेका उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बस्नेत बोल्न सक्ने अवस्थामा छन् भने रोकाया अर्धबेहोसीमा छन् । बनबासास्थित होटलमा बेहोस भेटिएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले नाकासम्म पुर्‍याइदिएका थिए ।

भारतमा कोरोना संक्रमण तीव्र बनेपछि बस्नेत र रोकाया गत चैतमा घर फर्किएका थिए । असारमा संक्रमण घटेपछि पुन: काममा फर्किएका थिए । ‘दसैं पनि आउन थाल्यो, घरमा सानोतिनो काम पनि थियो,’ बस्नेतले भने, ‘दसैं खर्च अलिअलि जोगाएर ल्याएको बाटोमै लुटियो, अब घर पनि कसरी पुग्ने ?’ उनीहरु अल्मोडामा घर तथा सडक निर्माणको काममा मजदुरी गरेर फर्किएका हुन् ।

दसैंतिहारका बेला भारतबाट घर फर्किने नेपाली कामदारहरुलाई भारतीय क्षेत्रमा वा सीमा क्षेत्रमा बर्सेनि लुटेर अलपत्र पार्नु नयाँ भने होइन । अधिकांश घटनामा चिसो पेय पदार्थमा नशालु चीज मिसाएर बेहोस बनाई लुटिने गरेको पाइने प्रहरी बताउँछ । गड्डाचौकी नाकामा खटिएका एक सुरक्षाकर्मीले बर्सेनि यो समयमा १५/२० जना यसरी लुटिने गरेको सुनाए । उनका अनुसार नाकासम्म आइपुगेकालाई स्थानीय संघ संस्था, सुरक्षाकर्मी र यातायात व्यवसायीको सहयोगमा घरसम्म पुर्‍याइए पनि भारतमै लुटिएकाहरु भने झनै अलपत्र पर्छन् । कतिपय नाकाबाटै पुन: रोजगारीका लागि भारततिरै फर्किने गरेका पनि छन् ।

‘धेरै घटनामा नेपाली कामदारहरु नेपालीबाटै लुटिने गर्छन्,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा स्थापना गरेको हेल्प डेस्कका कर्मचारी दानसिंह बोहराले भने, ‘नेपाली बोल्ने बित्तिकै धेरै नजिक हुने र अति नै विश्वास गर्ने बानीले लुटिएको भेटिन्छ ।’

Published on: 14 September 2021 | Kantipur

Link

Back to list

;