s

मजदुरीका लागि केदारनाथमा २० हजार नेपाली

कालीकोट — वैशाखदेखि असोजसम्म विशेष पूजाआजा र मेला लाग्ने भारतको प्रमुख तीर्थस्थल केदारनाथमा २० हजारभन्दा बढी नेपालीहरु ज्याला मजदुरीका लागि गएका छन् ।

केदारनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने धार्मिक विश्वासले लाखौं भारतीयसहित तीर्थयात्रीहरू केदारनाथ धाम जाने गर्छन् । केही पर्यटकका रुपमा पनि केदारनाथ जाने गर्छन् ।

हिन्दु धर्मावलम्बीहरूका लागि भारतका प्रमुख चार धाममध्ये केदारनाथ मन्दिरमा दैनिक ३० हजारभन्दा बढी तीर्थयात्री पुग्ने गरेको बताइन्छ ।

ज्याला मजदुरीका लागि गत वैशाखमा गएका शान्नित्रिवेणी ३ का जयराम देवकोटाका अनुसार केदारनाथमा कालीकोटका मात्रै ५ देखि ६ हजारको हाराहारीमा छन् । केदारनाथ मन्दिरसम्म दैनिक भारी बोकेर जीविकोपार्जन गर्ने नेपालीको संख्या मात्रै २० हजारभन्दा बढी रहेको बताइन्छ । देवकोटाका अनुसार केदारनाथ तीर्थ यात्रामा आउने यात्रुलाई मन्दिरसम्म पुर्‍याइदिए वापत दैनिक ५ देखि ४० हजारसम्म कमाइ हुने भएकाले नेपालको पश्चिमी क्षेत्रका युवाहरूको गन्तव्य केदारनाथ हुने गरेको छ ।

हाल केदारनाथमा कालीकोट, जुम्ला, हुम्ला, बाजुरा, दैलेख, जाजरकोट, सुर्खेतलगायतका युवाहरू विभिन्न काममा छन् । पहिले बिना रोकटोक केदारनाथ जान पाइने भए पनि गत वर्ष कालीकोट घर भएका एक जनाले तीर्थ यात्रुलाई दुर्व्यवहार गरेपछि स्थानीय प्रशासनले कालीकोटवासीलाई केदारनाथ आउन जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको थियो ।

भारतका अन्य क्षेत्रको तुलनामा केदारनाथ बढी कमाइ हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । 'अन्यत्र एक वर्षको कमाइ केदारनाथमा मान्छे बोक्ने काम गर्दा एक महिनामै कमाइ हुनसक्छ,' जयराम देवकोटा भन्छन् ।

हिँड्न नसक्ने, वृद्धावृद्धा, बालबालिकालाई केदारनाथको उकालोमा बोकेर लैजाने काम पाइने हुँदा कमाइ राम्रो हुने भएकाले नेपाली युवाहरू आकर्षित हुने गरेका हुन् ।

केदारनाथ दर्शन गर्न गएका तीर्थयात्रुलाई डण्डी (चार जनाले बोक्ने डोली), कण्डी (डोको काटेर एक जनाले बाक्ने) र घोडामार्फत २४ किमी उकालो यात्रा गराएर ओरालो झार्ने गरिन्छ । यसवापत दैनिक १० देखि ४० हजारसम्म कमाइ हुने नरहरिनाथ ३ का पौरख विष्टले बताए ।

केदारनाथ जान कालीकोटका युवालाई किन चाहियो सिफारिस ?

०७९ चैत्र १० गतेदेखि असार मसान्तसम्म यहाँको जिल्ला प्रशासनबाट ६ हजार ९ सय ५२ जनाले भारत जान सिफारिस लिएको कालीकोटका सहायक प्रजिअ सरोज अधिकारीले बताए । यसरी भारत जानका लागि दिनहुँ सिफारिस माग्नेको जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ ।

चैत्र १० गते एकै दिन ८ सय ७५ जनाले भारत जाने सिफारिस लिएको अधिकारीले बताए । गत वर्ष जेठमा केदारनाथ मन्दिर जाने क्रममा एक १३ वर्षीय बालक भीरबाट खसेपछि सँगै रहेका कालीकोट दाहाका सवराज शाहीले उनीसँग रहेको आइफोन र सुनको लकेट लिएर भागेको भन्ने हल्लापछि त्यहाँको प्रहरीले कालीकोट घर भएका मजदुरलाई बिनासिफारिस केदारनाथ प्रवेश रोक लगाएको हो ।

भारतीयले कालीकोट घर भएका शाहीले बालकलाई केदारनाथको उकालोमा सँगै लगेर आइफोन र सुनको लकेट लुटेर भीरबाट खसालेर भागेको आरोप लगाउँदै आएका छन् । भारतीय बालकको मृत्यु भएपछि भागेर नेपाल पसेका सवराजलाई चिन्ने दाहा गाउँकै ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेर निर्मम याताना दिएपछि आफन्तले कालीकोट प्रहरीमा निवेदन दिएका थिए ।

केदारनाथमा पहिरो : कालीकोटका ३ युवाको दाहसंस्कार

भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत रुद्रप्रयाग जिल्लाको गैराीकुण्डमा गत १८ गते राति पहिलेमा ज्यान गुमाएका कालीकोटका ३ युवाको आइतबार दाहसंसकार गरिएको छ ।

पहिरोमा ज्यान गुमाएका खाडाचक्र १ का प्रकाश ताम्राकार टमटा, वडा नं २ का टेक विश्वकर्मा देवी विश्वकर्माको दाहसंस्कार गरिएको केदारनाथमा रहेका आफन्त धमेन्द्र विश्वकर्माले बताए । 'घरबाट आउने अवस्था भएन,' उनले भने, 'शव पनि क्षतविक्षत भएकालेले यतै दाहसंस्कार गर्यौं ।'

केदारनाथ मन्दिर जाने पैदल मार्ग सुरु हुने गौरीकुण्डमा रहेको जुम्ला र हुम्लाका स्थानीयले संचालन गरेको होटलमा बास बसेका उनीहरु पहिरोमा परेका थिए ।

गौरीकुण्डको भिरालो पाखोमा अस्थायी घर टहरा बनाएर जुम्ला पाताराशीका मानबहादुर बोहोरा र हुम्लाका वीरबहादुर रावतले नोपलीका लागि खाने बस्ने सुविधासहितको होटल संचालन गरेका थिए । पहिरोमा बोहोराका पत्नी छोराछोरीसहित ७ जना, रावतका ३ जनाको परिवारसहित अझै १३ नेपाली र ६ भारतीय बेपत्ता भएको केदारनाथमा रहेका धमेन्द्रले बताए । पहिरोले होटल बगाएर नदीमा पुर्‍याएकाले बेपत्ता भेट्न मुस्किल रहेको पनि उनले बताए ।

Published on: 7 August 2023 | Kantipur

Link

Back to list

;