s

मजदुरीका लागि भारत गएका बाँकेका एक नेपाली बेपत्ता

सिराज खान

नेपालगञ्ज, चैत १६ गते । मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् । बाँकेको राप्तीसोनारी ८ का ६१ वर्षीय धनबहादुर कुसारी भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट फागुन १३ गतेबाट बेपत्ता भएको कुसारीका आफन्तले जनाएका छन् ।

कोटखाइस्थित बागी भन्ने ठाउँबाट घर जान्छु भनी हिँडेका कुसारी एक्कासि बेपत्ता भएको उहाँकी पत्नी खैरे कुसारीले बताउनुभयो ।

उहाँका अनुसार बागीमा मजदुरी गरिरहनुभएका पति कुसारी फागुन १३ गते (फेब्रुअरी २४ ) घर जान्छु भनी त्यहाँबाट हिँडेपछि परिवारको सम्पर्कमा आउनुभएको छैन ।

भारतमा पुगेर थुप्रै ठाउँमा उहाँको खोजी गरिए पनि हालसम्म कुनै पत्तो लगाउन नसकिएकाले खोजीमा सहयोग गरिदिन सबैसँग कुसारी परिवारले आग्रह गरेको छ ।

सामान्य अवस्थामा रहनु भएका कुसारीको परिवारले उहाँको खोजीमा गत चार महिनादेखि धेरै खर्च र दौडधुप गरे पनि फेला पार्न नसक्दा अति नै पीडामा छ ।

परिवारका अनुसार यस अघि भारतमा मजदुरीका लागी पटक पटक जाने गर्नुभएका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनी बागीबाट हिँड्नु भएको थियो । उहाँ बागीबाट गाडी चढेर कुन स्थानमा पुग्नुभयो वा कता जानुभयो भन्ने बारेमा केही पनि पत्ता लाग्न सकेको छैन ।

कुसारीको परिवारले माइती नेपालको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा पनि घटनाबारे जानकारी गराएर खोग्नको लागि निवेदन दिएका छन् ।

माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारतीय प्रहरीलाई सम्पूर्ण विवरण दिएर समन्वय गरिएको बताउनुभयो ।

कुसारीलाई भारतमा कसैले कतै फेला पारेमा नेपालस्थित मोबाइल नम्बर ९७४९८९८२३० वा ९८६४९२९८४१ वा माइती नेपालको कार्यालयमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले सबैसँग आग्रह गरेको छ ।

सो घटनाबारे बाँके प्रहरीलाई पनि जानकारी गराएर भारतीय प्रहरीसँग समन्वय गरी खोजीका लागि समन्वय गर्न आग्रह गरिएको बेपत्ता कुसारीकी श्रीमती खैरे कुसारीले बताउनुभयो ।

Published on: 31 March 2023 | Gorkhapatra

Link

Back to list

;